अर्थ

नेपाल–भारतबीच आठ समझदारीपत्रमा हस्ताक्षर, अन्तरिक्ष प्रविधिदेखि स्वास्थ्यसम्म सहकार्य

०
Banner

नयाँदिल्ली,मंसिर ७-

नेपाल र भारतबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती कर्मचारीको क्षमता विकास, स्वास्थ्य, परम्परागत चिकित्सा, सहरी विकास तथा कृषि क्षेत्रसँग सम्बन्धित आठवटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको द्विपक्षीय वार्तापछि दुवै देशका प्रतिनिधिले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

सम्झौताअनुसार अन्तरिक्ष तथा सञ्चार क्षेत्रमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोगका लागि स्याटेलाइट सञ्चार सञ्जाल स्थापना गर्ने समझदारी भएको छ ।

त्यस्तै, प्रहरी अनुसन्धान र फरेन्सिक विज्ञानको क्षेत्रमा दुईवटा समझदारी भएका छन् । भारतको गुजरातस्थित नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्य गर्ने समझदारी भएको छ ।

त्यसैगरी भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबीच पनि सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

निजामती कर्मचारीको क्षमता विकासका लागि भारतको प्रशासनिक सुधार तथा सार्वजनिक गुनासो विभागअन्तर्गतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच तालिम कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको छ ।

स्वास्थ्य क्षेत्रमा दुईवटा सम्झौता भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच स्वास्थ्य तथा औषधि क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । त्यस्तै, आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा प्रणालीमा सहकार्य गर्न दुई सरकारबीच सम्झौता भएको छ ।

यसका अतिरिक्त दिगो सहरी विकासमा प्राविधिक सहकार्य गर्ने तथा पशुपन्छी र मत्स्य विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि दुई देशबीच समझदारी भएको छ ।

यसअघि प्रधानमन्त्री मोदीले हैदरावाद हाउसमा प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समार्फत दुई प्रधानमन्त्रीबीचको भेटले नेपाल–भारत सम्बन्धका विभिन्न पक्षको समीक्षा र सहकार्यका नयाँ सम्भावना खोज्ने अवसर प्रदान गर्ने बताएका थिए ।

प्रधानमन्त्री शाहलाई सोमबार बिहान राष्ट्रपति भवनमा औपचारिक स्वागत गरिएको थियो । त्यसपछि उनले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । गत मार्च २०२६ मा प्रधानमन्त्री पद सम्हालेपछि शाहको यो पहिलो द्विपक्षीय भारत भ्रमण हो । एएनआई

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>