चितवन विशेष
चितवनमा लागूऔषधसहित चार जना पक्राउ

चितवन, मंसिर १—
चितवन प्रहरीले लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार भरतपुर महानगरपालिका–११ मनकामना टोलस्थित क्षेत्रमा लागूऔषधको कारोबार भइरहेको सूचनाका आधारमा भोजाडबाट खटिएको अस्थायी प्रहरी पोस्टको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल २ हजार ४१० पिस, एनारगन २ हजार ५०० पिस र नगद ४९ हजार ७९० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–२५ निवासी ३० वर्षीय निरज क्षेत्री, वडा नम्बर ११ निवासी ३४ वर्षीय विजय कुमाल, वडा नम्बर २५ निवासी २५ वर्षीय अजित विक र वडा नम्बर ११ निवासी ३२ वर्षीय बसन्त लामा रहेका छन्।
पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
























