राजनीति
बाढीपछिको पुनर्निर्माणमा सहयोग पु¥याउन २४ हजार करोडको सहायता प्याकेज

नयाँ दिल्ली, मंसिर ७ –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय भारत भ्रमणमा स्वागत गर्दै सोमबार नेपालको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा सहयोग पु¥याउन २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् ।
हैदरावाद हाउसमा सम्पन्न वार्तापछि प्रधानमन्त्री शाहसँगै संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले गत अगस्टमा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरे र कठिन समयमा काठमाडौंसँगै उभिने नयाँ दिल्लीको प्रतिबद्धता दोहो¥याए ।
“गत अगस्टमा नेपालमा गएको भीषण बाढीका कारण भएको मानवीय क्षतिप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं । आज, नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई नयाँ शक्ति प्रदान गर्न हामी २४ हजार करोड नेपाली रुपैयाँको विकास सहायता प्याकेज घोषणा गर्दछौं,“ प्रधानमन्त्री मोदीले भने । वित्तीय प्याकेजको उद्देश्यबारे प्रकाश पार्दै उनले थपे, “प्रभावित परिवारहरूको जनजीवन पुनः लयमा फर्कियोस्, नयाँ अवसरहरू सिर्जना होउन् र भविष्यमा आउन सक्ने विपद्हरूसँग जुध्ने नेपालको क्षमता थप सुदृढ होस् भन्ने हाम्रो संकल्प रहनेछ ।“
केही महिनाअघि विश्वकै कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गरेका नेपाली प्रधानमन्त्री शाहलाई न्यानो स्वागत गर्दै प्रधानमन्त्री मोदीले शाहको नेतृत्व र यसै वर्षको सुरुमा नेपाली मतदाताले उनलाई दिएको जनादेशको प्रशंसा गरे ।
“नेपालको प्रधानमन्त्री बनेपछि बालेन्द्र शाहजीलाई उहाँको पहिलो द्विपक्षीय भ्रमणमा भारतमा स्वागत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । केही महिनाअघि उहाँले विश्वकै कान्छो प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघलाई सम्बोधन गर्दा हामीले उहाँको दूरदृष्टिको स्पष्ट झलक देखेका थियौं । आज विगत केही घण्टाको हाम्रो छलफलका क्रममा मैले नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रति उहाँको स्पष्ट दृष्टिकोण र प्रतिबद्धता महसुस गरेको छु,“ प्रधानमन्त्री मोदीले भने ।
“यस वर्ष नेपालका जनताले उहाँलाई दिएको ऐतिहासिक जनादेशले नेपालको नयाँ पुस्ताको आकांक्षा र आशाहरूलाई प्रतिबिम्बित गर्दछ,“ उनले थपे । दुई छिमेकीबीचको गहिरो सम्बन्धमाथि जोड दिँदै प्रधानमन्त्री मोदीले द्विपक्षीय सम्बन्ध “घनिष्ठ आत्मीयता र अटुट विश्वास“ मा अडेको बताए ।
“एक सबल र समृद्ध नेपालको विकास यात्रामा भारत सधैं साझेदार रहिआएको छ । यही भावनाका साथ आज हामीले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन धेरै महत्वपूर्ण निर्णयहरू लिएका छौं,“ प्रधानमन्त्री मोदीले भने । “साथीहरू, भारत र नेपालबीचको सम्बन्ध केवल छिमेकको मात्र होइन, बरु घनिष्ठ आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो । हाम्रा खुसीहरू साझा छन्, र चुनौतीहरू पनि । हामी एकअर्काको प्रगतिमा साझेदार हौं, र कठिन समयमा एकअर्काको सहारा पनि हौं ।’
नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ दिल्लीको राजकीय भ्रमणका क्रममा भारत र नेपालले अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य, परम्परागत चिकित्सा, दिगो सहरी विकास र कृषि लगायतका क्षेत्रमा आठवटा समझदारी पत्र ९एमओयू० मा हस्ताक्षर गरेकै सन्दर्भमा मोदीको यो भनाइ आएको हो ।
अन्तरिक्ष तथा सञ्चार क्षेत्रमा, दक्षिण एसियाली भू–उपग्रहको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन ९स्याटकम० नेटवर्क स्थापना गर्ने सम्बन्धमा भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी प्रशासन र विधि विज्ञानमा सहकार्य सुदृढ गर्न दुईवटा सम्झौतामा हस्ताक्षर गरिएको छ । एउटा गुजरातको गान्धीनगरस्थित राष्ट्रिय विधि विज्ञान विश्वविद्यालय (एनएफएसयू) र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि, र अर्को भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय (आरआरयू) र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच सम्पन्न भएको छ ।
संस्थागत सुशासनलाई बलियो बनाउन, भारतको प्रशासनिक सुधार तथा जनगुनासो विभाग अन्तर्गतको राष्ट्रिय सुशासन केन्द्र (एनसीजीजी) र नेपालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य क्षेत्रमा दुई पक्षले दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा सहकार्यका लागि भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीचको समझदारी पत्र, र आयुर्वेद तथा अन्य परम्परागत चिकित्सा पद्धतिका क्षेत्रमा सहकार्यका लागि सरकार–सरकार(जीटूजी) स्तरको सम्झौता ।
६ वटा प्रमुख सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यास
दुई सरकारले दिगो सहरी विकासको क्षेत्रमा प्राविधिक सहकार्य तथा पशुपन्छी र मत्स्य विकासको क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रहरूमा पनि हस्ताक्षर गरेका छन् । यसैगरी, शाहको नयाँ दिल्लीको राजकीय भ्रमणका क्रममा दुई नेताहरूले संयुक्त रूपमा छवटा प्रमुख सीमापार सम्पर्क सञ्जाल, ऊर्जा तथा पूर्वाधार परियोजनाहरूको उद्घाटन र शिलान्यास गरेका छन् ।
सांस्कृतिक तथा रेल सम्पर्कलाई उजागर गर्दै दुई नेताहरूले भारतको अयोध्या र नेपालको जनकपुरलाई जोड्ने ’सरयू–कमला एक्सप्रेस’ रेल सेवाको शुभारम्भ गरे । सीमा क्षेत्रको सडक तथा व्यापारिक पूर्वाधारलाई प्रवद्र्धन गर्दै उनीहरूले भारतको धार्चुला र नेपालको दार्चुलालाई जोड्ने नयाँ सीमापार मोटरेबल पुलको उद्घाटन गरे।
उनीहरूले बनबासामा निर्माण हुने नयाँ एकीकृत जाँच चौकी(आईसीपी) को शिलान्यास गर्नुका साथै भैरहवा, सुनौली र दोधारा चाँदनीमा निर्माणाधीन आईसीपीहरूको प्रगति विवरणको समीक्षा समेत गरे ।
६६९ मेगावाट क्षमताको तल्लो अरुण र झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास
ऊर्जा तथा जलविद्युत क्षेत्रमा, दुई प्रधानमन्त्रीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजनाको शिलान्यास गरे । द्विपक्षीय पेट्रोलियम सहकार्यलाई थप सुदृढ बनाउँदै उनीहरूले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन (एमएपीएल) को दोस्रो चरणको उद्घाटन गरे र प्रस्तावित सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनको एक हिस्साका रूपमा झापामा निर्माण हुने पेट्रोलियम टर्मिनलको शिलान्यास गरे ।
हैदरावाद हाउसमा दुई नेताबीच भएको द्विपक्षीय वार्ता र भारत तथा नेपालबीच अन्तरिक्ष प्रविधि, सुरक्षा तालिम, निजामती सेवा क्षमता अभिवृद्धि, स्वास्थ्य सेवा, सहरी विकास र कृषि लगायतका क्षेत्रमा आठवटा समझदारी पत्र आदानप्रदान भएपछि भर्चुअल माध्यमबाट यी परियोजनाहरूको उद्घाटन र शिलान्यास गरिएको हो । एएनआई
























