चितवन विशेष
बोस्टन कलेजले दोस्रो बीआईसी अन्तराष्ट्रिय सम्मेलन गर्ने

चितवन, मंसिर ७-
बोस्टन इन्टरनेशनल कलेज (बिआईसी) भरतपुरले दोस्रो बीआईसी अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । कृत्रिम बुद्धिमता, नवपवर्तन तथा विश्वव्यापी सहकार्य मार्फत दिगो विकास प्रवद्र्धन गर्ने उद्देश्यले आगामी मंसिर ११ र १२ गते सम्मेलनको आयोजना गर्न लागेको भरतपुरमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
नेपालमा प्राज्ञिक अनुसन्धान संस्कृतिको प्रवद्र्धन गर्न र नेपाली शोधकर्ताहरुलाई विश्वव्यापी ज्ञान सञ्जालसँग जोड्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक डा.सुनिल पोखरेलले जानकारी दिए । विश्वविद्यालय अनुदान आयोग तथा विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय शैक्षिक संस्थाहरुको सहयोगमा दुई दिनसम्म सञ्चालन हुने प्राज्ञिक सम्मेलनमा १०६ वटा शोधपत्र प्रस्तुत गरिनेछ । त्यसमध्ये १२ वटा समानान्तर प्राविधिक सत्र मार्फत व्यवस्थापन, वित्त, अर्थशास्त्र, उद्यमशीलता, सूचना प्रविधि, डाटा साइन्स, डिजिटल रुपान्तरण, शिक्षा, जनस्वास्थ्य, जलवायू परिवर्तन र सुशासनलगायतका बहुआयामिक विषयका शोधपत्रमा समीक्षा गरिने उनले जानकारी दिए ।
नेपाल सहित भारत, पाकिस्तान, बंगलादेश, कतार, अष्ट्रेलिया, ओमान, साउदी अरेयिबा, मलेसिया, स्पेन, संयुक्त राज्य अमेरिक, नाइजेरिया र इथपिया गरी १३ राष्ट्रका विज्ञ अनुसन्धान कर्ता तथा प्रस्तोताहरुको सहभागिता हुने कार्यक्रममा प्यानल छलफल समेत गरिनेछ । विषेशगरी कृत्रिम बुद्धिमता, नवप्रवर्तन र विश्वव्यापी सहकार्यका समसामयिक आयामहरुमा केन्द्रित २ वटा विशेष प्यानल माथि विशेष छलफल हुनेछ । कार्यक्रममा विद्यार्थी, उद्योगी व्यवसायी, नीति निर्माता, शोधकर्ता गरी २ सयभन्दा बढीको सहभागिता रहनेछ । यस अन्तराष्ट्रिय सम्मेलनले चितवनलाई उच्च शिक्षा तथा अनुसन्धानको एक महत्वपूर्ण प्राज्ञिक केन्द्रका रुपमा स्थापित गर्नुका साथै मुलुकको समग्र शैक्षिक गुणस्तर अभिबृद्धिमा कोशेढुंगा सावित हुने विश्वास आयोजकले लिएको छ ।
























