देश/प्रदेश

हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, मनास्लु र आमादब्लम धेरैको रोजाइमा

०
Banner

मनिषा बस्नेत, 

काठमाडौं, मंसिर ७-

चालु शरद ऋतुको कार्तिक मसान्तसम्म हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार कार्तिक ७ गते २०८३ देखि मंसिर १, २०८३ सम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन् ।

विभागले सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार आरोहण अनुमति लिनेमा १ हजार २५१ पुरुष र ३८० महिला रहेका छन्, जुन कुल आरोही सङ्ख्याको क्रमशः ७६.७ प्रतिशत र २३.३ प्रतिशत हो ।

यस अवधिमा कुल २१ लाख ९७ हजार ३६० अमेरिकी डलर अर्थात् नेपाली ३३ करोड ४२ लाख ३४ हजार २२६ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । यो ऋतुमा आरोहीहरूको सर्वाधिक रोजाइमा मनास्लु (८,१६३ मिटर) र आमादब्लम (६,८१४ मिटर) परेका छन् । कुल आरोहीमध्ये ५९.८ प्रतिशत र कुल रोयल्टीको ८८.९ प्रतिशत हिस्सा यी दुई हिमालले मात्र ओगटेका छन् ।

मनास्लु आरोहणका लागि ४३ दलका ३७३ पुरुष र १२७ महिला गरी ५०० जनाले अनुमति लिएका छन् । मनास्लुबाट मात्र २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी उठेको छ, जुन कुल रोयल्टीको ६७.६ प्रतिशत हो ।

त्यसैगरी, दोस्रो सर्वाधिक आकर्षक गन्तव्य बनेको आमादब्लमका लागि ४० दलका ३६० पुरुष र ११६ महिला गरी ४७६ आरोहीले अनुमति लिएका छन् । आमादब्लमबाट ७ करोड १३ लाख ४७ हजार १०० रुपैयाँ (४ लाख ६८ हजार अमेरिकी डलर) राजस्व सङ्कलन भएको छ ।

यसबाहेक हिमलुङ हिमाल (७,१२६ मिटर)का लागि १३ दलका १३० जना, बरुणत्से (७,१२९ मिटर) का लागि ६ दलका ६५ जना, थापा पिक ९धम्पुस० का लागि १४ दलका ६३ जना र चुलु फार इस्टका लागि ६ दलका ५८ जनाले अनुमति पाएका छन् ।

आठ हजार मिटरभन्दा अग्ला अन्य हिमालमा पनि आरोहीको सहभागिता देखिएको छ । धौलागिरि प्रथम ९८,१६७ मिटर० का लागि ६ दलका ३७ आरोहीबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी उठेको छ ।

त्यस्तै, विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि १ दलका ३ पुरुष र १ महिला गरी ४ जनाले अनुमति लिँदा ३० लाख ७० हजार रुपैयाँ (२० हजार डलर) राजस्व सङ्कलन भएको छ । मकालु प्रथम(८,४६३ मिटर) का लागि १ दलका ३ पुरुष आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागको ६ नोभेम्बर २०२६ सम्मको देशगत विवरणअनुसार यस समयमा विश्वका ७७ देशका १ हजार ६१३ आरोहीले अनुमति लिएका थिए । जसमध्ये चीनबाट सर्वाधिक १४६ जना (१०२ पुरुष र ४४ महिला) रहेका छन् ।

त्यसपछि फ्रान्सबाट १४३, संयुक्त राज्य अमेरिकाबाट १३०, रुसबाट १२१, संयुक्त अधिराज्य ९बेलायत० बाट ११२ र जर्मनीबाट १०० आरोही सहभागी छन् । नेपालबाट ८३ पुरुष र ५ महिला गरी ८८ जनाले आरोहण अनुमति लिएका छन् ।

यस्तै इटालीबाट ६४, स्पेनबाट ५६, स्विट्जरल्यान्डबाट ५१, अस्ट्रेलियाबाट ४६, क्यानडाबाट ४५, चेक रिपब्लिकबाट ४४, पोल्यान्डबाट ४३ र भारतबाट ४० आरोही रहेका छन् ।

अन्य हिमालतर्फ पुथा हिउँचुली र सारिबुङमा ३९–३९ जना, थोरोङ पिकमा २५ जना तथा अन्नपूर्ण चौथोमा १९ जनाले अनुमति लिएका छन् ।

हिमालतर्फको यो उत्साहले नेपालको पर्वतीय पर्यटन थप चलायमान बन्दै गएको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>