देश/प्रदेश
सर्वनाम थिएटरमा ‘वीर गणेशमान’

काठमाडौं ,मङ्सिर ८-
प्रजातन्त्रका लागि आफ्नो जीवन समर्पण गरेका क्रान्तियोद्धा लौहपुरुष गणेशमान सिंहको जीवन र सङ्घर्षमा आधारित नाटक ‘वीर गणेशमान’ सर्वनाम थिएटरमा मञ्चन भइरहेको छ ।
बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटकमा नेता सिंहको बाल्य अवस्था, राजनीतिक परिवर्तन, प्रजा परिषदसँगको आवद्धता, नेपालमा प्रजातन्त्रका लागि गरेको सङ्घर्षलाई देखाइएको छ ।
वरिष्ठ नाट्यकर्मी अशेष मल्लको परिकल्पना, नाट्यरुपान्तरण र निर्देशनमा तयार भएको नाटक ‘वीर गणेशमान’ मा उहाँको राजनीतिक जीवनसँगै पारिवारिक जीवनलाई समेत समेटिएको छ ।
सत्ता र शक्तिका अगाडि कहिल्यै नझुकेका क्रान्तियोद्धा सिंहको जीवनमा आधारित नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नागरिक अधिकारका लागि उनले देखाएको साहस र योगदानलाई प्रस्तुत गर्छ ।
जन्मकैदको सजाय पाएका गणेशमान भद्रगोल जेलबाट भागेको घटना तथा विसं २०४६ सालको जनआन्दोलनपछि प्रधानमन्त्री पद अस्वीकार गरेको ऐतिहासिक प्रसङ्गलाई पनि नाटकमा समेटिएको छ।
करिब दुई घण्टा लामो नाटकमा निर्देशक मल्लले आफ्नो ५० वर्षे नाट्ययात्रामै पहिलोपटक बिम्ब र प्रतीकको शैलीभन्दा फरक रहेर यथार्थपरक प्रस्तुति दिएको बताएका छन् । नाटकमा नेता सिंहको भूमिकामा अभिनेता अभयराज बराल छन् । उनले नेता सिंहको जीवनशैलीलाई मञ्चमा दुरुस्तै उतारेका छन् ।
‘नाटक हेर्न आउनेले दिनु हुने प्रतिक्रियाले उत्साह थपेको छ । मैले उहाँ ९नेता सिंह० लाई देख्न त पाइन् तर उहाँका बारेमा लेखिएका लेखहरू र निर्देशकले लेख्नुभएको पटकथाले मलाई उहाँको छविलाई प्रस्तुत गर्न सघाएको छ । मैले आफ्नो क्षमताले भ्याएसम्म न्याय गर्ने कोसिस गरेको छु’, अभिनेता बरालले भने ।
नाटक हेर्न पुगेका दर्शकले उनको अनुहारमा गणेशमान सिंहकै आकृति झल्किएको प्रतिक्रिया दिएका थिए । गीतकार तथा सञ्चारकर्मी नरेश भट्टराईले नाटक हेरेपछि मुख्य अभिनेता बरालसँगै सबैको तारिफ गरे । ‘सबैको काम उत्कृष्ट छ, धेरै समयपछि नाटक हेर्न आएको, अब निरन्तर आइरहन्छु’, उनले भने । उनले निर्देशकसँगै सम्पूर्ण कलाकारले न्याय गरेको प्रतिक्रिया दिए ।
कलाकार तथा गायक यमन श्रेष्ठले नेता सिंहको जीवनीलाई २ घण्टाको समयमा समेट्नु र जीवन्त बनाउनु ठूलो चुनौती रहेको भन्दै नाटकको प्रसंशा गरे ।
‘हामीलाई उहाँ ९नेता सिंह० को बारेमा धेरै कुरा थाहा छ, जसलाई नाटक हेर्दा झन् चाख लाग्ने किसिमले प्रस्तुत गरेको पाएँ । अभयजीले गर्नुभएको अभिनय जीवन्त छ, पुनः नेता सिंहलाई देख्न पाएको आभाष गराउँछ’, उनले भने ।
नाटकमा नुषा लिङ्देन लिम्बू, माया मानन्धर, मीना पूर्णिमा, मनिष अर्याल, राम दाहाल, राजन मोक्तान, दुर्लभ सिंह कार्की, निश्चल डी इन्फिनिटी, रमेश वज्राचार्य, प्रदीप भट्ट, अरमान शाही, अनिश बोगटी, शिशिर घर्ती मगर, दिवस गौतम, भक्त श्रेष्ठ, निर्मल शाही, समीर आचार्य, शाश्वत सापकोटा, रुबिन सुनार र रोलेक्स राईको पनि अभिनय रहेको छ ।
२४ कात्तिक १९७२ मा काठमाडौंको रैथाने परिवारमा जन्मेका सिंहको निधन २ असोज २०५४ मा भएको थियो । उनी नेपाली कांग्रेसका संस्थापक नेता तथा विसं २०४६ को ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमान्डर थिए । नाटक आगामी मङ्सिर १९ गतेसम्म मञ्चन हुनेछ ।
























