राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

०
Banner

काठमाडौं ,मङ्सिर ६-

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

पूर्व प्रधानमन्त्री केपी ओलीका सल्लाहकार समेत भइसकेका राजन भट्टराईले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध, सम्पर्क सञ्जाल र आपसी सहकार्य विस्तार गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुरा गर्दै भट्टराईले नेपाली प्रधानमन्त्रीको भारत भ्रमण हुन लागेको करिब साढे दुई वर्षपछि भएकाले यसको कूटनीतिक महत्व रहेको बताए । दुई देशबीच धेरै विषयमा सहकार्य र समन्वय आवश्यक रहेकाले नियमित उच्चस्तरीय भ्रमण तथा संवाद महत्वपूर्ण हुने उनको भनाइ छ ।

‘भारत र नेपालबीच धेरै विषय र सम्झौता छन् । हामी सबैभन्दा निकट छिमेकी हौँ । दुई देशबीच यति धेरै साझा मुद्दा र सहकार्यका क्षेत्र भएकाले उच्चस्तरीय भ्रमण र आपसी समझदारी सधैँ महत्वपूर्ण हुन्छन्,’ उनले भने ।

भारत नेपालको प्रमुख विकास साझेदार, सबैभन्दा ठूलो व्यापार साझेदार र प्रमुख लगानीकर्ता भएकाले भ्रमणमा विकास सहकार्यलाई प्राथमिकता दिनुपर्ने भट्टराईले बताए । उनले विपद्पछिको पुनर्निर्माण तथा संकटका समयमा भारतले गर्दै आएको सहयोगलाई निरन्तरता दिने विषयमा पनि छलफल हुनुपर्ने उल्लेख गरे ।

भट्टराईले जलवायु परिवर्तन, कृत्रिम बौद्धिकता (एआई) र आधुनिक प्रविधिको प्रयोगमार्फत विकासलाई तीव्रता दिने विषयमा समेत दुई देशबीच सहकार्यको सम्भावना रहेको बताए । त्यस्तै, सडक तथा हवाई सम्पर्क विस्तार, पेट्रोलियम पाइपलाइनको विस्तार र ग्यास पाइपलाइन निर्माणको सम्भावना पनि भ्रमणका क्रममा छलफल गर्नुपर्ने विषय रहेको उनको भनाइ छ । क्रिकेट पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि सहकार्य अघि बढाउन सकिने उनले बताए ।

आठ वर्षदेखि थाती प्रबुद्ध समूहको प्रतिवेदन

भट्टराईले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई पनि भ्रमणमा उठाउनुपर्ने विषयका रूपमा उल्लेख गरेका छन् । दुवै देशका प्रतिनिधि सम्मिलित समूहले द्विपक्षीय सम्बन्धको समग्र अवस्थाबारे अध्ययन गरी सहमतिमा तयार पारेको प्रतिवेदन करिब आठ वर्षदेखि कार्यान्वयन प्रक्रियामा अघि बढ्न नसकेको उनले बताए ।

प्रधानमन्त्री शाहको भ्रमणका क्रममा उक्त प्रतिवेदनले प्राथमिकता पाउने र त्यसलाई सकारात्मक निष्कर्षमा पु¥याउने दिशामा छलफल हुने अपेक्षा गरेको उनको भनाइ छ । ‘हामीलाई भारतसँग अत्यन्त राम्रो सम्बन्ध आवश्यक छ र हाम्रो अपेक्षा पनि यही हो,’ भट्टराईले भने । एएनआई

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>