देश/प्रदेश

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

०
Banner

बाँके, कात्तिक १९ –

बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यतामा रहेका स्थानीयलाई जग्गासम्बन्धी काम गर्न सहज भएको छ ।

सो गाउँपालिकाले भूमि प्रशासनसम्बन्धी सेवा सञ्चालनमा ल्याएसँगै अब स्थानीय नागरिकले जग्गा पास, कित्ताकाट र नामसारीलगायत सेवा ग्रामिण भेगमै पाउने भएका छन् ।

सेवा शुभारम्भ गर्दै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउन भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अब नरैनापुरका नागरिकले जग्गा पास, कित्ताकाट, नामसारीलगायत कामका लागि सदरमुकाम धाउनुपर्ने अवस्था रहने छैन । यसबाट नागरिकको समय र खर्च बचत हुनाका साथै सेवा प्राप्त गर्न पनि सहज हुनेछ ।”

अध्यक्ष शाहले स्थानीय तहबाटै सेवा प्रवाह हुन थालेपछि नागरिकले भोग्दै आएको प्रशासनिक झन्झट कम हुनाका साथै सरकारी सेवामा स्थानीयको पहुँच पनि विस्तार हुने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले देशभरको ३४औँ शाखाका रूपमा नरैनापुरमा भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सञ्चालनमा ल्याउन सफल भएको बताउनुभयो । उहाँका अनुसार सेवा सञ्चालनका लागि आवश्यक संस्थागत तथा प्राविधिक व्यवस्थापन मिलाइएको छ । आगामी दिनमा सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

“स्थानीय नागरिकले सामान्य सरकारी सेवा लिन पनि टाढा जानुपर्ने अवस्थाको अन्त्य गर्न हामीले सेवा विस्तारलाई प्राथमिकता दिएका छौँ, आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गर्दै सेवालाई प्रभावकारी बनाउने हाम्रो प्रयास रहनेछ”, प्रमुख प्रशासकीय अधिकृत वलीले भन्नुभयो ।

भूमि व्यवस्थापन शाखा सञ्चालनमा आएको अवसरमा पहिलो सेवाग्राहीका रूपमा नरैनापुर(५ का विनय दीक्षित र नरैनापुर(४ का अमिद अहमद खाँलाई लालपुर्जा प्रदान गरिएको थियो ।

सडकसँगै सरकारी सेवाको पहुँच विस्तार

नरैनापुरमा वर्षौंअघि बाँके जिल्लाकै दुर्गम गाउँपालिकाका रूपमा चिनिन्थ्यो । भौगोलिक कठिनाइ र कमजोर सडक पूर्वाधारका कारण यहाँका नागरिकको सरकारी सेवा, स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत सुविधामा सहज पहुँच थिएन । तर, पछिल्लो समय सडक सञ्जाल विस्तार हुँदै जिल्ला सदरमुकामसँगको आवागमन सहज बन्दै गएको छ ।

सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमै सरकारी कार्यालय तथा सेवा केन्द्र सञ्चालन हुन थालेपछि नरैनापुरमा प्रशासनिक पहुँच पनि विस्तार हुँदै गएको छ । भूमि व्यवस्थापन शाखाको स्थापनालाई यही परिवर्तनको अर्को महत्वपूर्ण कडीका रूपमा हेरिएको छ । गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले स्थानीय तहबाटै सरकारी सेवा सञ्चालन हुँदा ग्रामीण क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ पाएको बताउनुभयो ।

उहाँका अनुसार जग्गासम्बन्धी कामका लागि सदरमुकाम पुग्दा लाग्ने यातायात खर्च, समय र अन्य प्रशासनिक झन्झट अब कम हुनेछ । वर्षौंदेखि भौगोलिक विकटता र प्रशासनिक पहुँचको अभाव झेल्दै आएको नरैनापुरमा पछिल्लो समय सडकसँगै सरकारी सेवाको पहुँच पनि विस्तार हुँदै गएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>