देश/प्रदेश

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

०
Banner

महेन्द्रनगर, कात्तिक १० –

सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ ।

मुलुक चाडपर्वमय भइरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको भ्रमण गर्नेको सङ्ख्या बढेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर विक्रम चौधरीले जानकारी दिनुभयो ।

करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज विश्वमै ठूलो बाह्रसिङ्गा हुल अवलोकन गर्न पाउने निकुञ्जका रुपमा परिचित छ । त्यस्तै मुलुकभरमै थोरै क्षेत्रफलमा धेरै पाटे बाघ भएको निकुञ्जका रुपमा समेत परिचित छ । यहाँ दुई हजार तीन सयभन्दा बढी बाह्रसिङ्गा, ५० वटा पाटे बाघ, २० भन्दा बढी गैडा, साढे चार सयभन्दा बढी चराचुरुङ्गी पाइने निकुञ्ज कार्यालयले जनाएको छ ।

गत असोज २८ गतेदेखि कात्तिक ९ गतेसम्म १३ दिनको अवधिमा आन्तरिक र बाह्य गरी ५९० जनाले निकुञ्जको अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताउनुभयो । “बर्सातका बेला निकुञ्ज प्रवेश बन्द थियो । असोजको अन्तिम साता मात्रै खुला गरिएको हो”, चौधरीले भन्नुभयो, “चाडपर्वका बेला घर आएका कञ्चनपुरसहित सुदूरपश्चिमका साथै मुलुकका विभिन्न स्थानबाट यहाँ आउने क्रम बढेको छ ।”

निकुञ्ज खुला भएयता सोमबारसम्म यहाँ ५६० जना आन्तरिक, २३ जना सार्क मुलुकका र सात जना अन्य मुलुकका पर्यटकले अवलोकन भ्रमण गरेको रेञ्जर चौधरीले बताउनुभयो । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश शुल्क प्रतिव्यक्ति रु १००, सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति रु ७५० र सार्क राष्ट्र बाहेकका विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क लिइने गरेको निकुञ्ज कार्यालयले जनाएको छ ।

“काम र अध्ययनलगायतका कारणले जिल्ला बाहिर रहनुभएका कञ्चनपुरका स्थानीय नागरिक पनि बिदाका बेला शुक्लाफाँटा घुम्न आउने गरेका छन्”, चौधरीले भन्नुभयो, “निकुञ्जको प्रचारप्रसार र पर्यटक प्रवर्द्धनका लागि पनि प्रयास भइरहेकै छन् ।”

कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले कञ्चनपुरका पर्यटकीय गन्तव्यमा पछिल्लो समय आन्तरिक पर्यटकको भीडभाड रहेको बताउनुभयो । “शुक्लाफाँटा, महाकालीस्थित चार लेनको पक्की भाइरल पुल, झोलुङ्गे पुल, बेदकोट ताल र झिलमिला तालमा पर्यटकको आवागमन वृद्धि भएको छ ।” उहाँले भन्नुभयो, “अहिले पश्चिमी नाका गड्डाचौकी भएर भारतको नैनीताल र कैची धाम घुम्ने जाने नेपालीको सङ्ख्यामा पनि वृद्धि भएको छ ।”

उहाँले पर्यटकीयस्थलमा आउने पर्यटकको यातायात, आवास र सुरक्षालगायतका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>