देश/प्रदेश

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

०
Banner

प्रेमनारायण आचार्य , 

अर्घाखाँची, कात्तिक ९-

हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै भाइ हो’ भन्ने उत्साहपूर्ण आवाज । दसैँको उल्लाससँगै अर्घाखाँचीका शक्ति पीठ तथा भगवती मन्दिरहरूमा देखिने यो दृश्य जिल्लाको मौलिक सांस्कृतिक पहिचान बोकेको सराये नाच को हो ।

हिन्दूहरूको महान् पर्व बडादसैँका अवसरमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म विभिन्न दिनमा नाचिने सराये अर्घाखाँचीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको परम्परागत नाच हो । आसुरी शक्तिमाथि दैवी शक्तिले विजय प्राप्त गरेको खुसियालीमा यो नाच नाच्ने परम्परा रहेको छ ।

अर्घाखाँचीका विभिन्न शक्ति पीठ तथा भगवती देवीका मन्दिरहरूमा नाचिने सरायेमा महिला तथा पुरुषहरू तरवार, खुँडा र अन्य परम्परागत हतियार हातमा लिएर पञ्चेबाजाको तालमा नाच्दै हतियार प्रदर्शन गर्छन् । देवीका प्रतीकका रूपमा मानिने आलमसमेत सहभागी गराइने यस नाचले धार्मिक आस्था र वीरताको परम्परालाई जीवन्त बनाएको छ ।

अर्घा भगवती मन्दिर तथा अर्घा दरबारलाई सराये नाचको उद्गमस्थलका रूपमा लिने गरिन्छ । अर्घाको सराये नाच पञ्चाङ्ग पात्रोमा पनि समावेश भएको र यो नेपालकै प्रसिद्ध सांस्कृतिक नाचमध्ये एक रहेको अर्घा भगवती मन्दिर तथा दरबार संरक्षण समितिका अध्यक्ष सरोज भुसालले बताउनुभयो ।

तरवार, खुँडा र अन्य परम्परागत हतियारका साथै देवीका प्रतीक आलमलाई लिएर पञ्चेबाजाको तालमा नाचिने सरायेले धार्मिक आस्था र सांस्कृतिक गौरवलाई प्रतिबिम्बित गर्ने सन्धिखर्क नगरपालिका–७ खाँचीकोटका वडाध्यक्ष चुराबहादुर केसीको भनाइ छ । पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक तथा साहित्यकार माधवराज चुँदालीका अनुसार तरवार, खुडा र हतियार प्रदर्शन गर्दै आलम देवीका साथमा नाचिने यस परम्पराले देवी प्रसन्न हुने धार्मिक मान्यता रहेको छ ।

बडादसैँका अवसरमा अर्घाखाँचीका विभिन्न स्थानमा निश्चित दिनमा सराये नाच्ने परम्परा छ । एकादशीको दिन सन्धिखर्क, द्वादशीका दिन शीतगङ्गा नगरपालिकाको ठाडा र भूमिकास्थान नगरपालिकाको ढिकुरा, त्रयोदशीको दिन सन्धिखर्क नगरपालिकाको खाँचीकोट र भूमिकास्थान नगरपालिकाको ताराखसे, चतुर्दशीको दिन मालारानी गाउँपालिकाको रागामारे र सन्धिखर्कको कुर, कोजाग्रत पूर्णिमाका दिन अर्घा भगवती मन्दिर तथा अर्घा दरबारमा नाचिने परम्परा रहेको छ ।

दसैँमा विशेष रूपमा नाचिने सराये चैतेदसैँका अवसरमा पनि प्रदर्शन गरिन्छ । यसले वर्षौंदेखि पुस्तान्तरण हुँदै आएको अर्घाखाँचीको सांस्कृतिक सम्पदालाई निरन्तरता दिएको छ । सराये नाच केवल धार्मिक अनुष्ठान वा मनोरञ्जनमा सीमित छैन । यसले हिन्दू सांस्कृतिक परम्पराको संरक्षणसँगै विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको अर्घाखाँचीका सांसद हरिप्रसाद भुसालको भनाइ छ ।

महिला र पुरुष मात्र नभई विभिन्न जातजाति तथा समुदायका मानिसहरू एकै ठाउँमा भेला भएर उत्साहपूर्वक सहभागी हुने भएकाले सराये सामाजिक एकताको प्रतीक पनि बनेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । सराये अर्घाखाँचीको नाच मात्र होइन, इतिहास, आस्था, वीरता, संस्कृति र सामाजिक सद्भावलाई एउटै लयमा जोड्ने मौलिक सम्पदा हो ।

आधुनिकताको प्रभावसँगै मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेका बेला अर्घाखाँचीको सराये नाचले पुर्खाले हस्तान्तरण गरेको सांस्कृतिक विरासतलाई जीवन्त राखेको छ । यसको संरक्षण, प्रवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न सके अर्घाखाँचीको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन थप सहयोग पुग्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>