देश/प्रदेश
वाग्मती सफाइ अभियान जारी

काठमाडौँ,कात्तिक ८-
‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको वाग्मती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो
गुह्येश्वरी मन्दिर अगाडि वाग्मती नदी एवं किनारमा शनिबार ७०२ औँ हप्ताको सफाइ गरिएको थियो । दसैँमा दुर्गा पूजाका लागि बनाइएको मूर्तिलाई नदीभित्र विसर्जन गर्दा भएको फोहरलाई शनिबार सफाइ गरिएको अभियानकर्मी किशोरसिं शाहीले राससलाई जानकारी दिनुभयो । नवदुर्गाको पूजा गरिएका मूर्तिहरुलाई किनारमा राखिएको छ ।
सो अवसरमा कुहिने फोहरलाई त्यहीँको वाग्मती किनारमा गाडिएको थियो । नकुहिने करिब एक मेट्रिक टन फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा राखी व्यवस्थापन गरिएको पनि उहाँले बताउनुभयो ।
सफाइ महाअभियानमा क्यानाडाबाट आउनुभएका समाजसेवी टोस्टराज क्षेत्री, माथिल्लो वाग्मती सरसफाइ अभियानका ईश्वर पुडासैनी, कीर्तिपुर सुन्दरीघाट सरसफाइ अभियानका संयोजक चित्र सुनुवार, समाजसेवी लीलादेवी खतिवडा र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सरोज पौडेलको नेतृत्वमा कर्मचारी एवं वाग्मती अभियानकर्मीको सफाइमा सक्रिय सहभागिता रहेको थियो ।
वाग्मती अभियानकर्मी खतिवडाको जन्मदिनको उपलक्ष्यमा गुह्येश्वरीस्थित नदी किनारमा तेजपातको बिरुवा पनि रोपिएको थियो । अर्को हप्ताको वाग्मती सरसफाइ पनि यसै स्थानमा गरिने जनाइएको छ ।























