प्रवास
साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीको मृत्यु

काठमाडौं,कात्तिक ५-
साउदी अरबको अराम्को तेल प्रशोधन तथा उत्पादन केन्द्रमा ड्रोनको भग्नावशेष खस्दा एक नेपालीसहित दुई जनाको मृत्यु भएको छ । घटनामा भारतीय र पाकिस्तानका एक–एक नागरिक घाइते भएका छन् ।
बुधबार भएको घटनामा नेपाल र फिलिपिन्सका एक–एक नागरिकको मृत्यु भएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) को सिमाना नजिक रहेको शैबह तेल क्षेत्रमा लक्षित गरी आएको ड्रोनलाई बीचमै रोकिएको थियो ।
त्यसपछि खसेको भग्नावशेषले तेल केन्द्रमा क्षति पुगेको थियो । भग्नावशेष खस्दा केन्द्रमा ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा समेत आगलागी भएको थियो । मन्त्रालयले ड्रोन कसले प्रक्षेपण गरेको भन्नेबारे भने खुलाएको छैन । तर पछिल्लो समय हुथी विद्रोहीहरुले यमनबाट साउदी अरबमा आक्रमण गर्दै आएका छन् ।
पछिल्लो घटना साउदी अरबका विमानस्थल र ऊर्जा पूर्वाधारलाई लक्षित गरी भइरहेका आक्रमणको शृंखलाकै हिस्सा भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।























