Breaking News

मौलाकालिका मन्दिरमा ५० प्रतिशतले घटे भक्तजन

०
Banner

चितवन, कात्तिक १-

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोटस्थित मौलाकालिका मन्दिरमा दसैँका बेला दर्शन गर्न आउने भक्तजनको संख्यामा ५० प्रतिशतले कमी आएको छ । देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र विषम परिस्थितिका कारण यस वर्ष मन्दिरमा दर्शन गर्न आउने भक्तजन घटेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्रदास कँडेल (खगराज)ले गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या घटेको बताए । विगतका वर्षमा बिहान ४ बजेदेखि नै मन्दिरमा भक्तजनको चाप बढ्ने गरे पनि यस वर्ष त्यस्तो भीड नदेखिएको उनले बताए ।

‘देशको विषम परिस्थिति र बाढीपहिरोका कारण पनि भक्तजनको संख्या घटेको पाएका छौँ। देश नै पीडामा रहेको अवस्थामा त्यसको प्रभाव धार्मिक क्षेत्रमा पनि परेको छ । विगतमा आउने भक्तजनको तुलनामा यस वर्ष करिब ५० प्रतिशत मात्रै आएको अनुमान छ,’–उनले भने ।

दसैँको सप्तमी, अष्टमी र महानवमीमा मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षमा पूजा गर्न लामो समय लाइनमा बस्नुपर्ने भए पनि यस वर्ष त्यस्तो अवस्था नरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कंडेलले जानकारी दिए । विशेषगरी अष्टमीसम्म आइपुग्दा भक्तजनको चाप अपेक्षाकृत कम देखिएको हो ।

भक्तजनको चाप घटेपनि मन्दिरमा आउने दर्शनार्थीलाई सहज रूपमा पूजा गर्ने व्यवस्था मिलाइएको छ । धार्मिक सेवा समिति मौलाकालिकाले पूजा छिटोछरितो बनाउन ब्राह्मण पुजारी थप गरेको छ । ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिँदै छुट्टै व्यवस्थापन गरिएको उनले जानकारी दिए । मन्दिर परिसरको सीमित क्षेत्रलाई ध्यानमा राखेर शान्तिसुरक्षाको व्यवस्था पनि मिलाइएको समितिले जनाएको छ ।

मौलाकालिका मन्दिरमा दर्शन गर्न पैदलमार्ग, मोटरबाटो र केबलकारबाट पुग्न सकिन्छ । सडक र केबलकारको सुविधा विस्तार भएपछि भक्तजनलाई मन्दिरसम्म पुग्न सहज भएको छ ।
करिब पाँच सय वर्षअघि तत्कालीन पाल्पा राज्यका सैनिक टोलीले मौला स्थापना गरी शक्तिपीठका रूपमा पूजा गर्न थालेकाले मन्दिरको नाम मौलाकालिका रहन गएको जनश्रुति छ । पछिल्लो दुई दशकयता मन्दिरमा भौतिक पूर्वाधार विकाससँगै भक्तजनको आकर्षण बढ्दै गएको हो । मौलाकालिका मन्दिरमा दर्शन तथा पूजा गरे मनोकामना पूरा हुने जनविश्वास छ ।
मन्दिरमा भक्तजनको व्यवस्थापनका लागि सुरक्षा, आर्थिक तथा व्यवस्थापनलगायत विभिन्न समिति गठन गरिएको छ । दसैँका बेला आउने भक्तजनलाई व्यवस्थित रूपमा दर्शन तथा पूजाको व्यवस्था मिलाउन समितिले विशेष तयारी गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>