Breaking News
बडादशैँ नजिकिँदै गर्दा उपत्यका छाड्नेको लर्को, मुख्य नाकाहरूमा यात्रुको बाक्लो चाप

काठमाडौं, कार्तिक १ –
नेपालीहरूको महान चाड बडादशैँ नजिकिएसँगै संघीय राजधानी काठमाडौं उपत्यका छाडेर आ–आफ्नो थातथलो फर्कने नागरिकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।
काठमाडौंका प्रमुख बहिर्गमन नाकाहरू कलङ्की, कोटेश्वर, बालाजु तथा नयाँ बसपार्क क्षेत्रमा घर फर्किने सर्वसाधारणको बाक्लो उपस्थिति देखिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकाअनुसार पछिल्ला केही दिनयता दैनिक रूपमा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या तिब्र गतिमा वृद्धि भइरहेको छ । दशैँ, तिहार तथा छठ पर्व मनाउनका लागि अध्ययन, रोजगारी र व्यवसायका सिलसिलामा राजधानीमा बसोवास गर्दै आएका लाखौँ सर्वसाधारण गाउँ फर्कन थालेपछि मुख्य सडक खण्डहरूमा चहलपहल बढेको हो ।
विशेष गरी पूर्वतर्फ जाने सवारीसाधन र यात्रुहरूको चाप कोटेश्वर, जडीबुटी तथा भक्तपुर क्षेत्रमा केन्द्रित छ भने पश्चिम तथा तराईतर्फ जाने यात्रुहरूको भीड कलङ्की, बल्खु र थानकोट नाकामा बाक्लो देखिएको छ ।























