चितवन विशेष
चितवन कारागारमा यस वर्ष दसैँको उत्साह कम, कैदीबन्दीले सामान्य रूपमा पर्व मनाउने तयारी

काठमाडौं ,कात्तिक १-
विगतका वर्षमा दसैँ उत्सवका रूपमा मनाउँदै आएका कारागारका कैदीबन्दीहरूमा अहिले उत्साह देखिँदैन । गत भदौ १० गते आएको भोटेकोशी बाढीका कारण देश शोकमा रहेकाले पनि कारागार कैदीहरूमा उत्साह छैन ।
विगत १५ वर्षदेखि कारागारमा कैद जीवन बिताउँदै आउनुभएका पदमबहादुर थारू नाम थर परिवर्तित अघिल्ला वर्षहरूको जस्तो उत्साह दसँैमा नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अघिल्ला वर्षहरूमा दसैँमा जस्तो रमाइलो गर्ने सोचमा हामी छैनौँ ।” यो वर्ष शुद्ध शाकाहारी तरिकाले दसैँ मनाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
अघिल्ला वर्षहरूमा विभिन्न किसिमका खेलकुद, सांस्कृतिक कार्याक्रम तथा सामूहिक भोज जस्ता कार्यक्रमहरू हुने गरेको भए पनि यस वर्ष त्यस्तो नहुने अर्का कैदी कृतन शर्मा नाम थर परिवर्तित बताउनुहुन्छ । अघिल्ला वर्षहरूमा सामूहिक भोजका लागि राँगा, कुखुरा, बोका, खसीलगायत पशु चौपाया ल्याएर काट्ने गरिएको भए पनि यस वर्ष त्यस्तो नगरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कसैले व्यक्तिगत रूपमा खान्छ भने खाउन तर सामूहिक रूपमा हुने काम हुँदैन यो वर्ष ।” टीकाको तीन दिन घरपरिवारसँग बसेर टीका लगाउनेबाहेक अन्य कार्यक्रमहरू नगर्ने उहाँले जानकारी दिनुभयोे ।
कारागारभित्र आएपछि सबै साथीहरू आफ्नै परिवार जस्तो लाग्ने भन्दै उहाँले बाहिर हुँदाभन्दा यहाँ भित्र फरक किसिमको रमाइलो पाएको बताउनुभयो । अघिल्ला वर्षहरूमा यहाँ बसेर दसैँ मनाउँदा पनि त्यस्तो खासै घरको याद नआएको उहाँको भनाइ छ । अहिले पहिलेको जस्तो नगर्ने मनस्थितिमा कारागारको आन्तरिक प्रशासन पुगेको छ ।
अघिल्ला वर्षहरूमा दसैँको बेलामा नाचगान गर्ने गरिएकामा कारागारका दिदीबहिनीहरू यस वर्ष नाचगान गर्ने सोचमा छैनन् । उनीहरू आन्तरिक रूपमा कुनै कार्यक्रम गर्ने पक्षमा नभए पनि टीकाको दिन परिवारसँग टीका थाप्ने योजनामा रहेका छन् । विगत १० वर्षदेखि कैद जीवन बिताउँदै आउनुभएकी उर्मिला सुब्बा नाम थर परिवर्तित अहिलेको दसैँ बाढीपहिरोले लगेको बताउनुहुन्छ । देश नै शोकमा रहेको समयमा उत्साहसहित दसैँ मनाउने सोच आफूहरूमा नरहेको उहाँले बताउनुभयो ।
अहिले कारागार कार्यालयमा ७३९ जना कैदीबन्दी रहेका छन् । जसमध्ये ४६ महिला र ६९३ पुरुष रहेका छन् । कारागार कार्यालय चितवनका सूचना अधिकारी चेतनाथ ढुङ्गाना अहिले कारागार प्रशासन र आन्तरिक प्रशासनले दसैँलाई उत्साहका साथ नमनाउने योजना बनाएको बताउनुभयो । आम नेपालीलाई उमङ्ग नभएको समयमा यहाँ रहेका कैदीबन्दीहरूलाई पनि नरमाइलो लागेको उहाँले बताउनुभयो । अहिले सबैले सामान्य तरिकाले मनाउने योजना बनाएको उहाँको भनाइ छ ।रासस























