स्वास्थ्य

स्वास्थ्य बीमामा अनावश्यक परीक्षण गरे दाबी अस्वीकृत हुने

०
Banner

काठमाडौं, असोज ३१ –

स्वास्थ्य बीमा बोर्डले बीमितको स्वास्थ्य अवस्थासँग असम्बन्धित अनावश्यक परीक्षण गराउने स्वास्थ्य संस्थाको दाबी अस्वीकृत गर्ने जनाएको छ। बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई अनावश्यक परीक्षण नगर्न, बीमितलाई सहज सेवा दिन र नियमविपरीतका गतिविधि रोक्न निर्देशन दिएको हो।

बोर्डले जारी गरेको पत्रमा बिरामीको लक्षण, स्वास्थ्य अवस्था तथा चिकित्सकीय आवश्यकतासँग मेल नखाने गरी भिटामिन डी, भिटामिन बी१२ र थाइराइड फङ्सन टेस्ट (टीएफटी) जस्ता परीक्षण गराइएको पाइएमा त्यस्ता परीक्षणको दाबी अस्वीकृत गरिने उल्लेख छ।

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकलाई सेवा प्रदान गर्दा कोटा प्रणाली व्यवस्थित गर्न, विभेदपूर्ण व्यवहार नगर्न र स्वास्थ्य सेवा प्राप्त गर्न असहज हुने अवस्था सिर्जना नगर्न पनि बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

त्यसैगरी, नियमित औषधि सेवन गरिरहेका बीमितलाई तीन–तीन महिनाका लागि औषधि उपलब्ध गराउने व्यवस्था मिलाउन बोर्डले आग्रह गरेको छ। स्वास्थ्य बीमाको सुविधा थैलीमा समावेश भएका औषधि, औषधिजन्य सामग्री तथा सेवाहरू बीमितलाई नगदमा खरिद गर्न लगाउने कार्य नगर्नसमेत निर्देशन दिइएको छ।

बोर्डले स्वास्थ्य बीमाअन्तर्गत पेस गरिने दाबी सम्बन्धित स्वास्थ्य संस्थाको आन्तरिक दाबी पुनरावलोकन समिति ९इन्स्योरेन्स रिभ्यु कमिटी० बाट अनिवार्य रूपमा समीक्षा गराउनुपर्ने जनाएको छ। दाबी पेस गर्नुअघि आवश्यक कागजात, उपचार विवरण, परीक्षणको औचित्य तथा प्रचलित सुविधा थैलीअनुसार सेवा प्रदान गरिएको सुनिश्चित गरी प्रमाणित गर्नुपर्नेछ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ तथा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम निर्देशनविपरीत कार्य गर्ने संस्थामाथि कारबाही हुने बोर्डले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र सेवाग्राहीमैत्री बनाउन तथा बीमित नागरिकले पाउनुपर्ने सेवा सुनिश्चित गर्न बोर्डले सम्बन्धित सबै स्वास्थ्य संस्थालाई निर्देशन पालना गर्न आग्रह गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>