चितवन विशेष
चितवनमा ७१औं प्रहरी दिवसमा ७१ जनाद्वारा रक्तदान

चितवन, असोज २७–
नेपाल पुलिस स्कुल शान्तिपुर चितवनले ७१ औं प्रहरी दिवसको अवसरमा आज (मंगलबार) आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताहरुले रक्तदान गरेका छन ।
नेपाल प्रहरी स्थापनाको ७१ वर्ष पुगेको अवसरमा सोही संख्या बराबरबाट रक्तदान गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी कर्मचारी, स्थानीय संघसंस्थाका व्यक्ति एवम स्थानीय शुभेच्छुकहरु गरी ७१ जनाले विद्यालय परिसरमै पुगेर आज रक्तदान गरेका हुन । जिल्ला प्रहरी कार्यालय चितवन एवम नेपाल रेडक्रस सोसाईटीका स्थानीय शाखासंगको समन्वयमा आयोजना गरिएको रक्तदान एवंम स्वास्थ्य परीक्षण कार्यक्रममा ३० जना संरक्षीत बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण समेत गरिएको छ ।

पुलिस स्कुल चितवनले बालबालिकाहरुको लागि प्रहरी नागरिक साझेदारी संस्थामा संरक्षित ३० जना बालबालिकाहरुको विशेषज्ञ चिकित्सक मार्फत स्वास्थ्य अवस्था एवम रक्त परीक्षण गर्नुका साथै प्राथमिक उपचारको लागि आवश्यक औषधी समेत उपलब्ध गराएको छ । चितवन एभरेष्ट हस्पिटल र सगरमाथा ल्याबसंगको सहकार्यमा संरक्षित बालबालिकाहरुको सामान्य स्वास्थ्य जाँच र रगत मार्फत बालबालिकाको स्वास्थ्य अवस्था सम्बन्धी विभिन्न परीक्षण समेत गरिएको विद्यालयका समादेशक प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिए ।
‘विपद्मा सारथी, संकटमा छहारीः प्रविधीयुक्त नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ मनाउन लागिएको यस वर्षको ७१ औं प्रहरी दिवस २०८३ को अवसरमा नेपाल पुलिस स्कुल चितवनले संरक्षीत बालबालिकाहरुलाई बिद्यालय जान प्रयोग हुने ब्याग, शैक्षिक सामग्री समेत प्रदान गरेको छ । प्रहरी दिवसको अवसरमा रक्तदान एवम स्वास्थ्य परीक्षण कार्यक्रम व्यवस्थापनमा सहयोग गर्ने प्रादेशिक रक्त संचार केन्द्र भरतपुर, गोरेटो शैक्षिक परामर्श केन्द्र, रेडक्रसका स्थानीय शाखा, संरक्षित बालबालिकाहरुलाई प्राथमिक उपचारको लागि औषधी उपलब्ध गराउने आशिष मेडिकल लगाएत स्थानीय सामाजिक संघ संस्थालाई विद्यालयले सम्मान समेत गरेको छ ।

विद्यालय शिक्षामानै विद्यार्थीहरुलाई रगतबाट हुने सक्ने विभिन्न स्वास्थ्य परीक्षणका साथै रक्तदानको महत्वको बारेमा जानकारी समेत गराउने उद्धेश्यले विद्यालय परिसरमै उक्त कार्यक्रमको आयोजना गरीएको समादेशक थापाले जानकारी दिए। पुलिस स्कुलमा अध्ययनरत ७ सय जना विद्यार्थीहरुलाई विद्यालयले विभिन्न समयमा वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सहयोगी भावनाको विकास, अनुशासनका साथै स्वास्थ्य, शारिरीक एवम व्यक्तिगत सुरक्षाको सम्बन्धमा समेत प्रशिक्षण प्रदान गर्ने गरेको छ ।























