चितवन विशेष

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको मोक्षप्राप्ति र स्वर्गवासको कामना गर्दै देवघाटमा बिशेष पुजा गरिने

०
Banner

देवघाट,असोज २३-

भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका नेपाली तथा विदेशी नागरिकको आत्माको चिरशान्ति, मोक्षप्राप्ति र स्वर्गवासको कामना गर्दै देवघाटधाममा महायज्ञ तथा विशेष पूजा आराधना आयोजना गरिने भएको छ। भरतपुर ४ निवासी समाजसेवी ईश्वर रेग्मीका अनुसार असामयिक रूपमा दिवंगत भएका आत्माको शान्तिको कामनासहित शनिबार बिहान ८ बजेदेखि दिनभर धार्मिक कार्यक्रम सञ्चालन गरिनेछ।

कार्यक्रममा १५ जना ब्राह्मण तथा कर्ताको उपस्थितिमा श्रीमद्भागवत महापुराण पाठ पारायण (एकाह), हवन, होम, लाखबत्ती प्रज्वलन, दीप प्रज्वलन तथा विशेष पूजा आराधना गरिनेछ। सहभागी श्रद्धालुका लागि प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ।

दुई पवित्र नदीको संगमस्थल देवघाटधामको चितवनतर्फ कार्यक्रम आयोजना गर्न लागिएको हो। हालैको बाढीपहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिको आत्माको चिरशान्ति र मोक्षप्राप्तिको कामनासहित नेपाली समुदायको तर्फबाट कार्यक्रम आयोजना गरिएको रेग्मीले बताए। आयोजकले महायज्ञ, हवन, लाखबत्ती प्रज्वलन तथा पूजा आराधना कार्यक्रममा सहभागी भई दिवंगत आत्माको शान्तिको कामना गर्न सम्पूर्ण नेपाली समुदाय तथा श्रद्धालु भक्तजनलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>