मकवानपुर
हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा, असोज २१–
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई ध्यानमा राख्दै हेटौँडा अस्पतालको सेवा र उपचार क्षमता विस्तार गरिने बताउनुभएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले अस्पतालमा क्याथल्याब, एमआरआई सेवा तथा शय्या विस्तारलाई प्राथमिकतामा राखिएको बताउनुभयो ।
मुख्यमन्त्री थापा मगरले अस्पतालमा दैनिक बिरामीको चाप बढ्दै गएको उल्लेख गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक कार्यालय अन्य सरकारी भवनमा स्थानान्तरण गरी उक्त स्थानलाई उपचार तथा शय्या विस्तारमा प्रयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार यसै वर्षदेखि मुटुरोग उपचारका लागि क्याथल्याब सञ्चालन गर्ने तयारी गरिएको छ । सेवा सञ्चालन भएपछि मकवानपुरसहित मधेस प्रदेश र आसपासका क्षेत्रका बिरामीलाई उपचारका लागि काठमाडौँ जानुपर्ने बाध्यता कम हुने उहाँले बताउनुभयो । अस्पतालमा एमआरआई सेवा थप गर्ने तथा आमा र शिशुको विशिष्टकृत उपचारका लागि आवश्यक पूर्वाधार तयार गर्ने कामसमेत अघि बढाइएको उहाँको भनाइ थियो ।
मुख्यमन्त्री थापा मगरले स्वास्थ्य क्षेत्रमा हाल विनियोजन भएको बजेट पर्याप्त नभएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रको बजेट बढाउने बताउनुभयो ।























