राजनीति
सभापति रविले दिए भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौँ, असोज २१–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवामा २५ वर्ष पूरा भएको अवसरमा बधाई दिएका छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समार्फत मोदीलाई शुभकामना दिँदै उहाँको नेतृत्वमा भारतले हासिल गरेको रूपान्तरण र तीव्र प्रगतिबाट आफू प्रेरित भएको उल्लेख गरेका हुन् । ‘दूरदर्शी नेतृत्वमा भारतको रूपान्तरणकारी यात्रा र तीव्र प्रगति वास्तवमै प्रेरणादायी रहेको’ लामिछानेले भनेका छन् ।
उनले नेपाल र भारतबीच साझा इतिहास, गहिरो सांस्कृतिक सम्बन्ध तथा जनता–जनताबीचको निकट सम्बन्धमा आधारित दीर्घकालीन सम्बन्ध रहेको उल्लेख गर्नुभएको छ । सभापति लामिछानेले रास्वपा र आफ्नो तर्फबाट नेपाल-भारत सम्बन्धलाई थप सुदृढ, समृद्ध र दुवै देशका लागि लाभदायक बनाउन सहकार्य गर्ने अपेक्षा व्यक्त गरेका छन् ।























