चितवन विशेष

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका लागि ७ उम्मेदवार छनोट

०
Banner

चितवन, असोज २१-

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको कार्यकारी निर्देशक पदका लागि सात जना उम्मेदवार छनोट भएका छन् । कार्यकारी निर्देशक पदको छनोट सिफारिस समितिको सचिवालयले मंगलबार(हिजो) अन्तर्वार्ताका लागि सात जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो ।

सार्वजनिक सूचनाअनुसार डा. अजय कुमार झा, डा. उमेश नेपाल, डा. कृष्ण सागर शर्मा, डा. गुरू शरण साह, डा. प्रदीप थापा, डा. विजय चन्द्र आचार्य र डा. रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका छन् । उनीहरु मध्ये डा. अजयकुमार झा बाहेक सबै जना क्यान्सर अस्पतालका चिकित्सक हुन् । सात जनामा सबैभन्दा सिनियर डा.कृष्णसागर शर्मा र डा.विजय चन्द्र आचार्य हुन् । उनीहरु दुई जना नै १२औँ तहका चिकित्सक हुन् । अन्य उमेद्वारहरु भने ११ औँ तहका चिकित्सक हुन् ।

बाग्लुङ स्थायी ठेगाना भएका शर्मा २३ वर्षदेखि क्यान्सर अस्पतालमा बाल क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत छन् । उनी यसअघि डिपुटी डाइरेक्टरको रुपमा समेत कार्यरत रहेका छन् । डा आचार्य भने यसअघि पनि कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् । कार्यकारी निर्देशकको उमेदवारी पेश गरेका डा उमेश नेपाल हाल निमिक्त निर्देशकको भूमिकामा रहेका छन् । अन्य डा गुरुशरण साह, डाक्टर प्रदीप थापा र डा रञ्जन भक्त भण्डारी भने यसअघि क्यान्सर अस्पतालको विभागीय जिम्मेवारी समालेका थिए ।
अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन आह्वान गरिएको सूचनाअनुसार तोकिएको समयभित्र अनलाइन आवेदन दिएका उम्मेदवारमध्ये छनोट समितिको निर्णयका आधारमा अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको थियो ।

सूचनाअनुसार छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण यही असोज २२ गते बिहीबार बिहान १० बजेदेखि हुने भएको छ । अन्तर्वार्ता तथा प्रस्तुतीकरण नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (रामशाहपथ) को नयाँ भवनमा हुनेछ ।

क्यान्सर अस्पतालमा बैशाख महिनादेखि कार्यकारी निर्देशक पद खाली रहेको थियो । केही महिनाअघि निमिक्त कार्यकारी मार्फत अस्पतालको प्रशासनिक काम कारबाही अगाडि बढाइएको छ । कार्यकारी हुनका लागि क्यान्सर विशेषज्ञ पदमा रही १२ वर्ष काम गरेको हुनुपर्ने मापदण्ड रहेको छ । कार्यकारी निर्देशकको पदावधि तीन वर्षे हुने व्यवस्था रहेको छ ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदका लागि आवेदन दिन इच्छुक उम्मेदवारहरूबाट अनलाइन आवेदन माग गरिएको थियो । सूचनाअनुसार असोज १९ गते राति १२ बजेसम्म अनलाइन आवेदन दिने समय तोकिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>