प्रवास

नोबेल शान्तिमा ट्रम्पको छाया

०
Banner

ओस्लो, असोज २१ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्ष नोबेल शान्ति पुरस्कारका बलिया दाबेदार नदेखिए पनि उहाँको प्रभाव शुक्रबार ओस्लोमा हुने पुरस्कार घोषणामा पर्ने विज्ञहरूले बताएका छन् । ट्रम्पले लामो समयदेखि पुरस्कार प्राप्त गर्न अभियान चलाउँदै आउनुभएको र पुरस्कार नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै आउनुभएकाले समितिको निर्णयलाई उहाँको नीतिको समर्थन वा आलोचनाका रूपमा हेरिन सक्ने उनीहरूको भनाइ छ ।

ओस्लोस्थित शान्ति अनुसन्धान संस्था (पिआरआईओ) का प्रमुख हाकोन जेर्लोले समितिले पुरस्कार दिँदा त्यसबाट शान्तिमा फाइदा पुग्ने वा उल्टै हानि हुने भन्ने विषय विचार गर्नुपर्ने बताउनुभएको छ । तर नर्वेजियन नोबेल इन्स्टिच्युटका सचिव क्रिस्टियन बर्ग हार्पभिकेनले पुरस्कारका लागि हुने लबिङ सामान्य विषय भएको र त्यसले समितिको निर्णय प्रभावित नगर्ने स्पष्ट पार्नुभएको छ ।

गत वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोलाई प्रदान गरिएको थियो । मचाडोले आफ्नो नोबेल स्वर्ण पदक ट्रम्पलाई दिनुभएको भए पनि उहाँबाट अपेक्षित राजनीतिक समर्थन प्राप्त गर्न नसकेको उल्लेख गरिएको छ ।

यस वर्ष बालअधिकार र मानवीय सेवामा सक्रिय संस्था वा व्यक्तिलाई पुरस्कार दिन सकिने चर्चा छ । ‘सेभ द चिल्ड्रेन’, युक्रेनी बाल अधिकार कार्यकर्ता माइकोला कुलेबा तथा सुडानमा युद्ध र भोकमरीपीडितलाई सहयोग गर्दै आएको आपत्कालीन प्रतिक्रिया कक्ष (इआरआर) सम्भावित दाबेदारमा छन् । त्यसैगरी, संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक फ्रान्सेस्का अल्बनिज, पोप लियो चौधौँ तथा अन्तर्राष्ट्रिय फौजदारी अदालत र अन्तर्राष्ट्रिय न्याय अदालतजस्ता संस्थाको नाम पनि चर्चामा छ ।

यस वर्ष पुरस्कारका लागि २८७ व्यक्ति तथा संस्था मनोनयनमा परेका छन् । सन् २०२५ मा कम्तीमा एउटा राज्य पक्ष संलग्न भएका ६५ सशस्त्र द्वन्द्व दर्ता हुनु विश्वमा शान्तिको अवस्था चुनौतीपूर्ण रहेको सङ्केत हो । हार्पभिकेनले विश्व सही दिशामा अघि बढिरहेको नदेखिए पनि शान्तिका लागि काम गर्ने व्यक्ति र संस्थाको कमी नरहेको बताउनुभएको छ । रासस एएफपी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>