देश/प्रदेश
दसैँका लागि काठमाडौँ उपत्यकाबाट घर फर्किन थाले यात्रु

काठमाडौँ, असोज १७–
दसैँ, तिहारलगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थालेको छ । चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा आठ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान गरिएको छ ।
चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आ–आफ्नो स्थायी घर फर्किने क्रम सुरु भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहल बढेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्त एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “विशेषगरी दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या क्रमशः बढ्दै गएको छ । यो वर्ष दसँै तिहारलगायतका चाडपर्वका लागि उपत्यकाबाट कम्तीमा पनि आठ लाख बढी बाहिरिने अनुमान गरिएको छ ।”
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौँलाका अनुसार चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढ्न थालेको छ । उहाँले उपत्यकाबाट देशका विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारीसाधन सञ्चालनको तयारी गरिएको छ ।
चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर तथा यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमनसमेत बढाएका छन् । यात्रुलाई तोकिएको भाडा तिर्न र आधिकारिक काउन्टरबाट टिकट लिन आग्रह गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारीसाधनको चाप बढ्ने भएकाले मुख्य सडक तथा उपत्यका बाहिरिने नाकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी गरेको छ । यात्रुको सहज आवागमनका लागि सम्भावित भीडभाड हुने स्थानमा आवश्यक जनशक्ति परिचालन गरिने ट्राफिक प्रवक्ता सुवेदीको भनाइ छ ।
दसैँ–तिहारका समयमा ठूलो सङ्ख्यामा नागरिक उपत्यकाबाट बाहिरिने भएकाले सार्वजनिक यातायातमा हुने सम्भावित ठगी, बढी भाडा असुली, क्षमताभन्दा बढी यात्रु बोक्ने तथा असुरक्षित रूपमा सवारी सञ्चालन गर्ने गतिविधिमाथि निगरानी बढाइने जनाएको छ ।
चाडपर्वमा घर फर्किने यात्रुले अग्रिम रूपमा टिकटको व्यवस्था गर्न, सवारीसाधनको अवस्था बुझेर यात्रा गर्न तथा यात्राका क्रममा सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन् ।























