चितवन विशेष
चितवनमा कांग्रेस देउवा पक्ष सक्रिय, चितवन–२ मा रचन कार्की र भरतपुरमा प्रमिशलाई जिम्मेवारी

चितवन, असोज १६–
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। सो पक्षको महाधिवेशन तयारी समितिको संयोजक डा. शशांक कोइराला रहेका छन्।
यसै तयारीअन्तर्गत नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले चितवन क्षेत्र नं. २ को तयारी समिति संयोजकमा रचन कार्कीलाई मनोनयन गरेको छ। असोज ३ गते डा. शशांक कोइरालाद्वारा जारी मनोनयन पत्रमा जिल्ला तहका साथीहरूको राय–सुझाव तथा केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा कार्कीलाई उक्त जिम्मेवारी दिइएको उल्लेख छ।
पत्रमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिमाथि नेपाली कांग्रेसको १५औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्व रहेको उल्लेख गर्दै वडा तहदेखि प्रदेश र केन्द्रीय महाधिवेशनसम्मको कार्यतालिका समेत सार्वजनिक गरिएको छ। कार्यतालिकाअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरिएको छ।
यसैक्रममा प्रमिश राईलाई भरतपुर महानगरको महाधिवेशन तयारी संयोजकको जिम्मेवारी दिइएको छ। चितवन क्षेत्र नं. २ मा रचन कार्की र भरतपुर महानगरमा प्रमिश राईलाई जिम्मेवारी दिइएसँगै जिल्लामा देउवा पक्षको महाधिवेशन तयारी तथा संगठनात्मक गतिविधि थप सक्रिय बनेको छ। देउवा पक्षले देशभर महाधिवेशन तयारीका लागि जिल्ला संयोजक र केन्द्रीय प्रतिनिधिसमेत परिचालन गर्दै आएको छ। देउवा पक्षले चितवन जिल्ला संयोजकमा पूर्व मन्त्री मिलनबाबु श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

























