देश/प्रदेश

दोधारा चादँनीलाई मुलधारसित जोडेको ऐतिहासिक पुल भत्किएपछि….

०
Banner
महेन्द्रनगर, असोज १५–
कञ्चनपुरको दोधारा चादँनी नगरपालिका–४ का पूर्व वडा सदस्य ७७ वर्षीय भीमबहादुर सिंह बुधबार महाकाली किनारमा भत्किएको झोलुङ्गे पुल नियाल्दै गर्दा भेटिनुभयो । विसं २०६० सम्म महाकाली नदीमा डुङ्गामा स्थानीयलाई ओहोरदोहोर गराउने काममा सक्रिय उहाँले दोधारा चादँनीलाई जोड्ने झोलुङ्गे पुल बनेपछि व्यापारतर्फ लाग्नुभयो ।
बुधबार बिहान महाकालीमा खासै ठूलो बाढी आएको थिएन । एकाएक आठवटा पिल्लरमध्ये दोधारा चादँनीतर्फको तेस्रो पिलल्र भत्किएर आवागमन रोकियो । अहिले भीमबहादुर जस्तै दोधाराका धेरै नागरिकमा निराशा छाएको छ ।
“ऐतिहासिक झोलुङ्गे पुलको यो अवस्था देख्दा आँखा नै रसाए”, सिंहले भन्नुभयो, “यो देश विदेशमा दोधारा चादँनीलाई चिनाउने पुल थियो । हामीले एउटा चिनारी गुमायौँ ।”
सिंहले पुल पुनःनिर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो । “पुल भत्किएपछि आवातजावत मात्रै होइन, पर्यटकलाई अवलोकन गर्नेदेखि वर परका व्यवसायी यसको मारमा परेका छन्”, उहाँले भन्नुभयो, “दसैँ तिहारको मुखमा पुल भत्किएको छ, यहाँ अवलोकनका लागि आउने पर्यटक यसपाली नआउने भए ।”
भारतसँग सीमा जोडिएको दोधारा चाँदनीमा २०२२ साल सेरोफोरामा बस्ती बसेको थियो । विसं २०५८ मा महाकाली नदीमा झोलुङ्गे पुल बन्ने सुरसार गरिएको थियो । पछि झोलुङ्गे पुल बनेपछि भारतीय बाटो भएर नेपाल आउनुपर्ने बाध्यता अन्त्य भएको हो ।
पुल बनेपछि महाकालीमा तार्ने डुङ्गा र बनवासा पुल भएर सदरमुकाम र जिल्लाको अन्य ठाउँ जान हुने कठिनाइ अन्त्य भएको सिंह बताउनुहुन्छ । महाकाली नदी पारीको टापु दोधारा चाँदनी आवागमनमा भारतीय बाटो ९बनवासा पुल० वा महाकाली नदीबाट किस्ती ९डुङ्गा० मा ओहोरदोहोर गर्नुपर्ने दुई विकल्प २०६० सालसम्म स्थानीयवासी सामु थिए ।
कुनै बेला जिल्लाकै भौगोलिक रुपले विकट मानिएको दोधारा चादँनीमा एसियाकै दोस्रो लामो झोलुङ्गे पुल बनेपछि यसको परिचिय विस्तारै विकाससित जोडियो । त्यसपछि महाकाली नदीमा चार लेनको पुल र पहुँच मार्ग तथा दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण अघि बढेपछि दोधारा चादँनी आर्थिक दृष्टिले अगाडी बढेको हो ।
“विसं २०३५ देखि लगातार २० वर्ष महाकालीमा डुङ्गा चलाएँ । अहिलेको जस्तो यहाँ विकास हुने हामिले कल्पना समेत गरेका थिएनौँ”, सिंहले भन्नुभयो, “कुनै बेला दोधारा चाँदनीलाई देशको मूलधारसित जोड्ने झोलुङ्गे पुल भत्किँदा मन अमिलो भएको छ । दोधारा चादँनीको भावना नदीले बगाइदिएको जस्तो आभास भएको छ ।”
दोधारा चादँनीका स्थानीय टिका भट्टले झोलुङ्गे पुल भत्किएर केही समयको असहजता चार लेनको पक्की पुलले सहज गरिदिएको भए पनि दोधारा चादँनीबासीको झोलुङ्गे पुलसित विशेष सम्बन्ध रहेको बताउनुभयो । “यो भीमदत्त र दोधारा चादँनी नगरपालिका जोड्ने पुल मात्र होइन यो सुदूरपश्चिमै पर्यटकीय धरोहर हो । यसको पुर्ननिर्माण चाँडा भन्दा चाँडो हुनुपर्छ ।” उहाँले दोधारा चादँनीलाई मुलधारसित जोड्ने पहिलो सेतु तै महाकाली नदीको झोलुङ्गे पुल भएको बताउनुभयो ।
दोधारा चादँनीको झोलुङ्गे पुल भत्किएपछि अनुगमनका लागि पुलस्थल पुग्नु भएका सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले महाकाली नदीको पुललाई चाँडो पुनःनिर्माण गरेर प्रमुख पर्यटकीय गन्तव्यबाट बञ्चित हुनबाट जोगाउनुपर्नेमा जोड दिनुभयो ।
“मैले वन मन्त्रालयबाट पुलको सौन्दर्यकरणका लागि बिजली जडान गर्न बजेटका लागि गृहकार्य गरिरहेकै बेला पुलमा क्षति पुग्यो”, मन्त्री रावलले भन्नुभयो, “यो धरोहरलाई जीवन्त राख्न सबैले सहकार्य गरेर अगाडी बढ्नुपर्छ ।”
पूर्वसांसद रमेश लेखकले ऐतिहासिक धरोहरका रुपमा विकसित झोलुङ्गे पुलको पुनःनिर्माण चाँडो हुनुपर्नेमा जोड दिनुभयो । “देशको अन्य भू–भागसँग यातायात सम्पर्क नभएको, जनजीवन कठिन भएको दोधारा चादँनीलाई तत्कालीन अवस्थामा प्रत्यक्ष देशको भूभागसँग जोडेको यो पुल दोधारा चादँनी र कञ्चनपुरको मात्र नभई देशकै ऐतिहासिक पुल हो,” उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
भीमदत्त नगरपालिका–१३ का वडाध्यक्ष रामबहादुर बोहराले २२ वर्ष अघि बनेको पुलको मर्मत सम्भारमा राज्यको ध्यान नपुगेको बताउनुहुन्छ । “महाकालीमा पानीको बहाव पाँच लाख क्युसेक पुग्दा समेत केही नभएको पुल एक्कासी भत्किएर आवागमन प्रभावित भयो”, वडाध्यक्ष बोहराले भन्नुभयो, “पुलको प्राविधिक जाँचपछि पुनःनिर्माणमा ढिलाइ गर्नुहुँदैन ।” वडाध्यक्ष बोहराले पुल पर्यटकीय गन्तव्यका साथै कतिपयको रोजगारीको माध्यम समेत भएको विगत बताउनुभयो ।
“दोधारा चादँनीदेखि पुल वरपरका बस्तीको पहिचान नै झोलुङ्गे पुल बनिसकेको थियो । कञ्चनपुर आउने पर्यटक यहाँ नपुगी फर्किदैनथे”, वडाध्यक्ष बोहराले भन्नुभयो, “पुल यहाँको पहिचान हो । यसको जिर्णोद्वारमा सबै तहका सरकारले गम्भीरता देखाउनुपर्छ ।”,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>