चितवन विशेष
सेन्ट्रल मोडल कलेजका बीएचएम र बीआईटीएम प्रथम सेमेस्टरका विद्यार्थीका लागि विशेष अभिमुखीकरण कार्यक्रम हुने

भरतपुर,असोज १५-
सेन्ट्रल मोडल कलेज (सीएमसी) ले बीएचएम तथा बीआईटीएम प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीका लागि विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०८३ असोज १६ गते शुक्रबार सोल्टी वेस्टेन्ड रिसोर्टमा आयोजना हुने कलेजले जनाएको छ।
नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै उनीहरूको रुचि, क्षमता, सम्भावना र भविष्यको करियरलाई वास्तविक कार्यक्षेत्रसँग जोडेर सोच्न प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कलेजका अनुसार नियमित कक्षाकोठाभन्दा बाहिर वास्तविक व्यावसायिक वातावरणमा विद्यार्थीलाई अनुभव प्रदान गर्ने उद्देश्यले कार्यक्रमलाई विशेष रूपमा तयार गरिएको छ। अभिमुखीकरण कार्यक्रम केवल स्वागत तथा परिचयमा सीमित नरही विद्यार्थीलाई आफूलाई चिन्ने, आफ्नो क्षमता पहिचान गर्ने र भविष्यको बाटो तय गर्न सहयोग पुग्ने गरी सञ्चालन गरिनेछ।
बीएचएम अर्थात् होटल व्यवस्थापनमा स्नातक अध्ययन गर्ने विद्यार्थीका लागि होटल, रेस्टुरेन्ट, रिसोर्ट, पर्यटन, कार्यक्रम व्यवस्थापन, हवाई सेवा, क्रुज तथा अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा करियर निर्माणका अवसर रहेका छन्। त्यसैगरी बीआईटीएम अर्थात् सूचना प्रविधि व्यवस्थापनमा स्नातक अध्ययन गर्ने विद्यार्थीका लागि सूचना प्रविधि, सफ्टवेयर, डिजिटल व्यवसाय, तथ्याङ्क, उद्यमशीलता, सूचना प्रविधि व्यवस्थापन तथा आधुनिक प्रविधिसँग सम्बन्धित विभिन्न क्षेत्रमा अवसर रहेको कलेजले जनाएको छ।
कलेजका अनुसार पाठ्यपुस्तक र कक्षाकोठाबाट प्राप्त ज्ञान मात्र पर्याप्त हुँदैन। त्यसलाई वास्तविक कार्यक्षेत्रमा कसरी प्रयोग गर्ने भन्ने विषय विद्यार्थीले अध्ययनको प्रारम्भिक चरणदेखि नै बुझ्न आवश्यक हुन्छ। यही उद्देश्यअनुसार बीएचएमतर्फ आतिथ्य क्षेत्रका अनुभवी व्यावसायिक तथा बीआईटीमतर्फ सूचना प्रविधि क्षेत्रका विज्ञ एवं अनुभवी व्यक्तिहरूमार्फत विद्यार्थीलाई सम्बन्धित क्षेत्रको वास्तविक कार्य वातावरणबारे जानकारी गराइनेछ।
कार्यक्रममा आवश्यक सीप, व्यावसायिक व्यवहार, अनुशासन, सञ्चार क्षमता, नेतृत्व, समूहमा काम गर्ने क्षमता तथा करियर विकासका विषयमा समेत विद्यार्थीलाई जानकारी दिइनेछ।
त्यसैगरी विद्यार्थीले ‘म कुन क्षेत्रमा राम्रो गर्न सक्छु ? ’, ‘मेरो रुचि केमा छ ?’, ‘उद्योगले मबाट के अपेक्षा गर्छ ?’ र ‘आजदेखि मैले आफ्नो करियरका लागि के तयारी गर्नुपर्छ ?’ जस्ता प्रश्नको उत्तर खोज्ने अवसर प्राप्त गर्ने कलेजले जनाएको छ।
सीएमसीले बीएचएम र बीआईटीएमलाई केवल उपाधि प्राप्त गर्ने शैक्षिक कार्यक्रमका रूपमा नभई सीप, व्यावहारिक अनुभव, कार्यक्षेत्रसँगको परिचय र करियरमुखी शिक्षासँग जोडेर अघि बढाउने लक्ष्य लिएको जनाएको छ। अध्ययनको सुरुवाती चरणदेखि नै विद्यार्थीले कार्यक्षेत्रको अनुभव प्राप्त गरेमा आफ्नो क्षमता र कमजोरी पहिचान गरी समयमै आवश्यक सुधार गर्न सक्ने कलेजको विश्वास छ।
अभिमुखीकरण कार्यक्रमले नयाँ विद्यार्थीलाई शिक्षक, वरिष्ठ विद्यार्थी तथा सम्बन्धित उद्योग क्षेत्रसँग जोडिन, आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्न र भविष्यका सम्भावनाबारे प्रत्यक्ष रूपमा बुझ्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

























