चितवन विशेष

प्रविधिबाट पर्यटन पुनःपरिकल्पना गर्ने लक्ष्यसहित ‘भरतपुर ह्याकाथन’ प्रतियोगिता सम्पन्न

०
Banner

भरतपुर, असोज ११-

विश्व पर्यटन दिवसको अवसर पारेर भरतपुर महानगरपालिकाले आयोजना गरेको ‘भरतपुर ह्याकाथन’ प्रतियोगिता सम्पन्न भएको छ । सूचना प्रविधि तथा कृत्रिम बुद्धिमत्ताको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासका नयाँ सम्भावना पहिचान गर्ने उद्देश्यले ह्याकाथन आयोजना गरिएको हो ।

भरतपुर महानगरपालिकाको आयोजना तथा वीरेन्द्र बहुमुखी क्याम्पसको कम्प्युटर साइन्स तथा सूचना प्रविधि विभागको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । उद्घाटन समारोहमा भरतपुर महानगरपालिकाका आर्थिक महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेलले सहभागीलाई शुभकामना दिँदै सिर्जनात्मक सोच र प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन विकासमा योगदान पुर्‍याउन आग्रह गरे ।

महानगरपालिकाका पर्यटन विज्ञ सल्लाहकार डा। विश्व सुवेदीले ह्याकाथनको मूल विषयवस्तु र उद्देश्यबारे प्रकाश पार्दै भरतपुरलाई पर्यटन नगरीका रूपमा विकास गर्न सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ताको अधिकतम उपयोग आवश्यक रहेको बताए । पर्यटन क्षेत्रमा देखिएका चुनौती पहिचान गरी प्रविधिमा आधारित नयाँ समाधान विकास गर्न ह्याकाथनजस्ता कार्यक्रम महत्वपूर्ण हुने उनको भनाइ थियो ।

त्यस्तै, महानगरपालिकाका खेल तथा पर्यटन सल्लाहकार अनिल अधिकारीले सूचना प्रविधि, सिर्जनशीलता र नयाँ सोचलाई भरतपुरको पर्यटन विकाससँग जोड्न ह्याकाथन महत्वपूर्ण अवसर भएको बताए । उनले सहभागीलाई नवीन अवधारणा तथा व्यावहारिक समाधान प्रस्तुत गर्दै भरतपुरको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउन शुभकामना दिए ।

यस वर्षको ह्याकाथनको मुख्य विषय “पर्यटनको पुनर्संरचनाका लागि डिजिटल एजेन्डा र कृत्रिम बुद्धिमत्ता” रहेको छ । सहभागी विद्यार्थी तथा प्राविधिक टोलीले डिजिटल प्रविधि, एआई तथा नवीनतम प्रविधिको प्रयोगमार्फत भरतपुरको पर्यटन प्रवर्द्धन, पर्यटकीय सूचना, सेवा तथा गन्तव्य व्यवस्थापनलगायत क्षेत्रमा नयाँ अवधारणा र समाधान प्रस्तुत गर्नेछन् ।

ह्याकाथनमा भरतपुर महानगरपालिका क्षेत्रका सूचना प्रविधिसम्बन्धी १० वटा कलेजका स्नातक तहका विद्यार्थी तथा प्राविधिक टोली सहभागी भएका थिए । प्रतियोगितामा फोर्व्स कलेज प्रथम, युटेक कलेज द्वितीय र सप्तगण्डकी तृतीय भएका छन् ।

विजेता समूहलाई क्रमशः रु २५ हजार, २० हजार र १५ हजार नगद, पदक र प्रमाणपत्र प्रदान गरिने महानगरका प्रर्यटन शाखा प्रमुख बालकृष्ण थपलियाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>