देश/प्रदेश
रसुवा बाढीमा बेपत्ता वीणा कुलकर्णीको खोजी गरिदिन परिवारको अपिल

काठमाडौँ, असोज ५–
नेपाल भ्रमणका क्रममा बेपत्ता भएकी आफ्नी परिवारकी सदस्यको खोजीका लागि सूचना दिएर सहयोग गरिदिन एक भारतीय परिवारले नेपाली अधिकारी तथा सर्वसाधारणसँग भावुक अपिल गरेको छ।
५८ वर्षीया वीणा कुलकर्णी आफ्ना साथीहरूसँगै कैलाश मानसरोवरको यात्रामा निस्किएकी थिइन्। उनको यो भ्रमणको व्यवस्थापन मुम्बईको ‘हिल्स एन्ड ट्रेल्स’ र नेपालको ‘रिचा टुर्स’ ले संयुक्त रूपमा गरेका थिए।
गत भदौ १० गतेका दिन स्थानीय समय अनुसार बिहान करिब ८ः१५ बजे उनले आफ्नो परिवारसँग फोनमा कुराकानी गर्दै आफू रसुवाको टिमुरे पुगेको जानकारी गराएकी थिइन्। परिवारसँग भएको उनको यो नै अन्तिम सम्पर्क थियो।
मुम्बईमा आफ्नो परिवारका साथ बस्दै आएकी सफ्टवेयर इन्जिनियर वीणा हालै सेवानिवृत्त भएकी थिइन्। धार्मिक आस्था राख्ने उनी समाजसेवामा सधैं अग्रपंक्तिमा रहन्थिन्।
हाल बेलायतमा बसोबास गर्ने वीणाका ठूलो बुबाका छोरा स्वामी मदन देसाईले भने, ‘विगत तीन हप्ता हाम्रो पूरै परिवारका लागि अत्यन्तै कष्टकर र पीडादायी रहेका छन्। हामी नेपाली अधिकारीहरू तथा आम नागरिकहरूलाई वीणाको बारेमा कुनै जानकारी भए उपलब्ध गराइदिन हार्दिक अनुरोध गर्दछौँ।’
वीणाको स्थिति र अवस्थाबारे कुनै जानकारी पाइने आशामा परिवारजन अझै पनि पर्खाइमा छन्।
























