चितवन विशेष
नेपाल मारवाडी युवा संगठनको अध्यक्षमा विराटनगरका अग्रवाल चयन, उपाध्यक्षमा चितवनका नितेश

चितवन, असोज ५–
नेपाल मारवाडी युवा संगठनको केन्द्रीय अध्यक्षमा विराटनगरका गोपाल अग्रवाल सर्वसम्मत चयन हुनु भएको छ ।
चितवनको पर्यटकीय नगरी सौराहामा दुई दिनसम्म चलेको महाधिवेशनबाट अग्रवालको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । संगठनको उपाध्यक्षमा चितवनका नितेश महेश्वरी र बिर्तामोडका यज्ञराज अग्रवाल चयन हुनु भएको । यस्तै विराटनगरका मोहित लालवानी महासचिव, चितवनका राजु कुमार चौधरी सचिव र हेटौंडाका राहुल सिंगानिया कोषाध्यक्षमा मनोनित भएको अध्यक्ष अग्रवालले जानकारी दिनुभयो । सदस्यमा निर्वाचित भएपछि महासचिव, सचिव र कोषाध्यक्ष गरी तीन जना पदाधिकारीमा मनोनित गरिएका हो ।
यस्तै केन्द्रीय सदस्यहरुमा निकुञ्ज अग्रवाल, पियुष कुमार अग्रवाल, रजत अग्रवाल, राहुल बन्सल, आशिष कुमार बोथरा, विजय बाहेती, विकास कुमार गोयल, अभिषेक बोहरा, सौरभ अटल र विशान्त सिंगी जैन चयन हुनु भएको छ । यसैगरि अधिवेशनले क्षेत्रीय सभापति र क्षेत्रीय सचिवहरु समेत चयन गरेको छ । क्षेत्रीय सभापतिहरुमा शिवम अग्रवाल, राजेश कुमार अग्रवाल, चन्द्रकुमार अग्रवाल, दीपक मित्तल, मोहित सेठिया र चेतन मुर्राका रहेका छन् ।
महाधिवेशनको प्रतिनिधिसभा सदस्य पुनम अग्रवालले उद्घाटन गर्दै मारवाडी युवाहरुलाई व्यवसाय, सामाजिक कार्यसंगै राजनीतिमा होमिन आग्रह गरिन् । नेपालको अर्थतन्त्रमा मारवाडी समुदायको महत्वपूर्ण भूमिका रहेपनि राजनीतिमा सधै पछाडी परेको भन्दै अब राजनीतिमा पनि ध्यान दिन उनको आग्रह थियो ।
नेपाल राष्ट्रिय माडवारी युवा संगठनका संस्थापक अध्यक्ष सुरेन्द्र गोल्छाले समाज सेवा माडवारी समाजको जिनमा रहेको बताए । ‘हामीले व्यापारलाई पनि अगाडि बढाएका छौँ । सामाजिक काम पनि गर्दै आएका छौँ’–उनले भने । उनले नयाँ प्रविधिसँग जोडिएर व्यापार गर्न समेत युवालाई सुझाव दिएका छन् । ‘अहिलेको युवा प्रविधिको युग हो,’ उनले भने ‘राष्ट्रिय अन्तराष्ट्रिय विज्ञबाट एआइसम्वन्धी तालिम लिन आवश्यक छ ।’
पर्यटकीय नगरी सौराहामा भएको महाधिवेशनमा २६ जिल्लाबाट करिव २ सय युवाहरुको सहभागिता रहेको थियो । महाधिवेशनमा कोषाध्यक्ष यज्ञराज अग्रवालले आर्थिक प्रतिवेदन र वार्षिक प्रतिवेदन सचिव मोहित लालवलीले प्रस्तुत गर्दै पारित गरिएको थियो ।
महाधिवेशनकै उद्घाटनमा संगठनले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले प्रभावित जनताको उद्दार, पुर्नस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा आर्थिक सहयोग गरेको छ । संगठनका अध्यक्ष मनोज अग्रवालले ५ लाख १७ हजारको चेक सांसद अग्रवाललाई हस्तान्तरण गरे । मारवाडी युवा संगठनले देशमा आइपर्ने विभिन्न विपत्तीमा सधै साथमा रहेको स्मरण गर्दै बाढी पीडितका लागि पनि आर्थिक सहयोग गरिएको बताए ।
























