Breaking News

भरतपुरको सुन्दर छ लेन सडकमा मापदण्ड विपरितका होर्डिङ बोर्ड, महानगर भन्छः हटाउँदैछौं

Banner

भरतपुर,असोज ४-

भरतपुरको सौन्दर्य बिगार्नेगरी सडकैभरी एक्सट्रिमका विज्ञापन बोर्ड राखिएको छ । महानगरले भने मापदण्ड विपरित भएकाले त्यस्ता बोर्ड हटाउने बताएको छ । स्थानीय विज्ञापनदातालाई आफ्नो विज्ञापन राख्न खोज्दा सहरको सौन्दर्य बिग्रिने भन्दै कर तिरेर राखिसकेको विज्ञापन बोर्ड समेत च्यात्दै हिँड्ने महानगरले पहुँच र चलखेलका आधारमा एक्स्ट्रिमको बिज्ञापन बोर्ड राख्नेलाई मनपरी गर्न छुट दिएको छ ।

यतिसम्म कि ट्राफिक लाइट राख्न गाडिएका पोलमा समेत एक्स्ट्रिमले बिज्ञापन बोर्ड झुण्डाएर सहर कुरुप बनाएको छ । विद्युत प्राधिकरणले राखेको पोलमा महानगरका कर्मचारीले एक्स्ट्रिमलाई मनपरी गर्न दिएका हुन् । मनपरी गर्न दिँदा लाखौँ रुपैयाँको चलखेल भएको आशंका गरिएको छ । चितवनको भरतपुर र नारायणगढ बजारलाई कुरुप बनाउनेगरी एक्सट्रिम इनर्जीको प्रचार सामाग्री राखिएको छ। देशकै सुन्दर नगरीको रुपमा स्थापित हुँदै गएको भरतपुर महानगरपालिकालाई पोलै पिच्छे राखिएको होर्डिङ बोर्डले गिज्याइरहेको छ ।

भरतपुर महानगरपालिकाको राजश्व शाखाका अधिकृत बुद्धीप्रसाद भुसालका अनुसार करिब ४ करोड रुपैयाँमा विज्ञापन गर्न विराटनगरको आकृती एडभरटाइजिङले ठेक्का पाएको हो । प्राविधिकहरुले अनुगमन गरेपछि कार्यपालिका बैठकले गरेको निर्णयका आधारमा सौन्दर्य नबिग्रने गरी ठेक्का लगाइएको भुसालले बताए । ठेकेदार कम्पनीले सम्झौता विपरित बिज्ञापन बोर्ड राखेको भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रदेव भारती बताउँछन् । बिज्ञापन बोर्ड राख्दा एउटा पोल छाडेर राख्नुपर्ने, जनचेतनामुलक सन्देश समावेश गर्नुपर्ने लगायतका विषय सम्झौतामा समेटिएको भएपनि त्यसो नभएको उनी बताउँछन् । ‘राजस्व तिरेको भन्दैमा सहर कुरुप बनाउने गरी होर्डिङ बोर्ड राख्न पाइँदैन’, उनले भने, ‘महानगर प्रहरीलाई भनेको छु । त्यस्ता बोर्ड हट्छन् ।’

बोर्ड राख्ने ठेक्का पाएको विराटनगरको आकृती एडभरटाइजिङले भने आफ्नो कम्पनीले मापदण्ड अनुसार बोर्ड राखेको दावी गरेको छ । कम्पनीले ३७५ वटा पोलमा बोर्ड राख्न अनुमती पाएको जनाएको छ । टेण्डर पारेर मापदण्ड अनुसार बोर्ड राखेका हौं, हामीले कानुन उलंघन गरेका छौं भने हटाउँछौं, आकृती एडभरटाइजिङले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>