देश/प्रदेश
जब ब्यानबहादुरको उद्धार भयो ।।।

खोटाङ, असोज १ –
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा खोटाङबाट बेवारिसे अवस्थाका एक सडक मानवको उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएर लामो समयदेखि खुला सडकमा जीवन बिताउँदै आउनुभएका सोल्मास्थित रबुटोलका ५१ वर्षीय ब्यानबहादुर श्रेष्ठको बुधबार उद्धार गरिएको हो ।
वडा कार्यालय सोल्माको सिफारिसमा माया घर नेपाल सुनसरीको समन्वयमा उद्धार गरी ‘आफ्नो घर नेपाल’ बिर्तामोड पठाइएको माया घर नेपालका खोटाङ प्रतिनिधि प्रमेश ढकालले जानकारी दिनुभएको छ ।
श्रेष्ठलाई उद्धार गर्न माया घर नेपाल इटहरीका मेची प्रतिनिधि कौशल भण्डारी, नगरप्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङ, वडाअध्यक्ष ध्रुवविक्रम राईलगायत सोल्मा पुग्नुभएको थियो ।
सोल्मास्थित सडकबाट उद्धार गरिएका श्रेष्ठलाई सरसफाइ गराएर नयाँ लुगा पनि लगाई दिइएको उद्धारकर्मीले बताएका छन् । शारीरिक रुपमा कमजोर भइसक्नु भएका श्रेष्ठलाई बिर्तामोड पठाउन नगरपालिकाले गाडीको व्यवस्था मिलाएको थियो ।
बेवारिसे अवस्थामा दिनरात सडकमा डुलिरहनु हुने श्रेष्ठका बुबा बेपत्ता भएको र आमाको मृत्यु भइसकेको वडाध्यक्ष राईले जानकारी दिनुभयो । घरपरिवारले उपचार गर्दा ठीक नभएपछि बेवारिसे बनेर डुलिरहनु हुने श्रेष्ठलाई उद्धार गरेर आफ्नो घर नेपाल पठाइएसँगै सहज जीवनयापन गर्न पाउने हुनुभएको छ ।
माया घर नेपालले यसअघि कोठामा थुनिएर बस्न बाध्य खोटाङका नौ वर्षीय बालकसहित सहाराविहीन चार बालबालिकाको उद्धार गरिसकेको छ । जिल्लाबाट उद्धार गरेर पठाइएका सबैले सहज रुपमा जीवनयापन तथा अध्ययन गरिरहेको खोटाङ प्रतिनिधि ढकालले जानकारी दिनुभयो ।
दुई करोड बराबरको अवैध गाँजा नष्ट
जिल्ला प्रहरी कार्यालयले केही दिनअघि बरामद गरेको एक हजार ३१५ किलोग्राम अवैध गाँजा नष्ट गरेको छ । गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गबाट ट्रकमा ‘लोड’ गरेर राखिएको अवस्थामा बरामद गरिएको रु दुई करोड मूल्य बराबरको अवैध गाँजा प्रहरीले बुधबार नष्ट गरेको हो ।
जङ्गलमा रोकेर राखेको ट्रक शङ्कास्पद लागेर परीक्षण गर्दा गाँजा लुकाएर राखेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभएको छ ।
दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको वालिङमा रोकेर राखिएको ट्रकमा गाँजा भेटिए पनि चालक वा अन्य कोही पनि भेटिएका थिएनन् । गाँजा बोक्ने ट्रकको चालक फरार रहेको र गाँजा धनीको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । सडकमा भेटिएका गाँजासहितको ट्रक नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो । रासस
























