देश/प्रदेश

दोहोरो पीडामा बन्दुरामः ‘छोरा रसुवामा बेपत्ता, मिर्गौला पीडित श्रीमती उपचार नपाएर थला’

Banner

महेन्द्रनगर, असोज १ –

रसुवाको लाङटाङ जलविद्युत् आयोजनामा कार्यरत शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका अभिषेक डगौराले गत भदौ १० गते बिहान ८ः३० बजे आमा सुनितालाई उपचारका लागि चिन्ता नलिन ढाडस दिँदै हुनुहुन्थ्यो ।

आमा–छोराको संवादको निष्कर्ष थियो भारतको राजधानी नयाँ दिल्ली जाने । उतै काम र उपचार गर्ने । “आमा एक÷दुई दिनमा घर आउँछु । चिन्ता नलिनू । दिल्ली गएर हजुरको उपचार राम्रोसँग गरौँला,” छोरासँगको अन्तिम संवाद सम्झँदै सुनिता डगौराले भन्नुभयो, “गरिबीले छोरा घरमा कहिल्यै बसेन । मजदुरीका लागि यताउता नै भयो । उसको कमाइले हाम्रो घरको चुल्हो बल्थ्यो । अब त घरमा दिउँसै अँध्यारो भयो ।”

आर्थिक अवस्था निकै कमजोर भएकै कारण सुनिता विगत चार महिनादेखि दुवै मिर्गौलामा समस्या देखिए पनि घरमै थला पर्नुभएको छ । भारतको बरेलीमा सुनिताको उपचार गराएका उहाँका श्रीमान् बन्दुराम डगौराले रु डेढ लाख खर्च भएको बताउनुभयो । पैसा नभएकाले गत असार यता अस्पताल लैजान डगौरा दम्पतीले नसकिरहेका बेला छोरा बाढीमा परेर सम्र्पकविहीन हुनुभएको छ ।

“मिर्गौला पीडित श्रीमतीको उपचारका लागि भएको तीन कट्ठा जग्गा बन्धक राखेर पैसा लिएको थिएँ । छोराले म उपचार खर्च त कमाइहाल्छु बुबा भन्थ्यो,” बन्दुरामले रासससित भन्नुभयो, “उपचार खर्चसहित घरको खर्च चलाउने आशा दिएको छोरो अभिषेक बाढीपछि सम्र्पकविहीन हुँदा परिवारको सहारा गुमेको छ ।”

गत जेठमा मात्रै सो आयोजनामा काम गर्न अभिषेक रसुवा पुग्नुभएको थियो । त्यसअघि भारतको बैङलोरमा काम गरेको बुबा बन्दुरामको भनाइ छ । “बुबा चिन्ता नगर्नु आमाको उपचार गरिहालौँला भन्थ्यो,” उहाँले भन्नुभयो, “भरोसा दिने छोराको न सास न त लास पाउने अवस्था भयो ।”

दुई छोरा र एक छोरीमध्ये २५ वर्षीय अभिषेक बन्दुरामका जेठा छोरा हुन् । “छोरीको बिहे भइसक्यो । कान्छो छोरा पनि पढ्न नसकेर त्यतिकै छ,” उहाँले भन्नुभयो, “जेठो छोरा बाढीले बेपत्ता भएपछि गाउँलेले श्रीमतीको उपचारका लागि रु ६५ हजार चन्दा सङ्कलन गरेका छन् । केहीले दिएको चामलले भोक मेटाउँदैछौँ ।”

श्रीमती मिर्गौला पीडित र छोरा बेपत्ता भएको अवस्थामा बन्दुरामले आर्थिक अभावकै कारण उपचारका लागि अस्पताल लैजान सक्ने अवस्था नरहेको बताउनुभयो ।

“एक पटक उपचारका लागि जाँदा १६ हजार भारतीय रुपैयाँ लाग्छ । आफूसित एक हजार ६०० छैन,” उहाँले भन्नुभयो, “वडा कार्यालयको सिफारिसपछि चन्दा सङ्कलन गरेर भए पनि उपचारमा लैजान्छु । नत्र बिना पैसा कस्ले उपचार गरिदेला र ।” घर बनाउने मिस्त्री काम पनि परिवारमा समस्या पर्दा प्रभावित भइरहेको उहाँले बताउनुभयो ।

“छोरा खोज्न काठमाडौँसम्म पुगेँ । न सास न त लासकै अवस्था पत्ता लाग्यो,” उहाँले भन्नुभयो, “ठेकेदारले छोराको काम गरेको रु १५ हजार पारिश्रमिक लिएर तीन दिन बसेर भारी मन लिएर घर फर्किए । छोरालाई लिएर फर्किने आशामा निराशा र रोदन मात्रै बाँकी रह्यो ।”

बेपत्ता अभिषेककी आमा सुनिताले आफ्नो जीवन बचाउनका लागि गुहार माग्नुभएको छ । “छोराको त अवस्था सरकारले पत्ता लगाउन सकेन । मेरो उपचारमा त केही सहयोग गर्ला र,” उहाँले भन्नुभयो, “मेरो अवस्थाकै कारण घर फर्किने तयारी गरिरहेको छोरा बाढीमा बेपत्ता भयो ।”

घरको आर्थिक अवस्था कमजोर भएकै कारण आफूले उपचार पाउन नसकेको सुनिताले वेदना सुनाउनुभयो । “ थोरै जग्गा थियो । त्यो पनि बन्धक राखेर भारतको बरेलीमा उपचार गरेको ऋण नै छ,” उहाँले भन्नुभयो, “अहिले पनि श्रीमान् उपचारका लागि ऋण खोजिरहनु भएको छ । अब उपचारका लागि ऋण खोज्ने कि सम्र्पकविहीन छोरा खोज्ने ।”

बन्दुराम डगौराको परिवारको पीडा कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले सोमबार प्रतिनिधिसभाको बैठकमा समेत राख्नुभएको थियो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मात्रै १४ जना भोटेकोशी बाढीबाट सम्र्पकविहीन रहेको बताउनुभयो ।

शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद डगौराले सुनिता डगौराको स्वास्थ्य अवस्था समेटिएको पत्र बनाइदिएको बताउनुभयो । “छोरा रसुवा बाढीमा परेर सम्र्पकविहीन छन् । आमा दुवै मिर्गौलामा समस्या देखिएर समस्या परेको अवस्था छ । घरमा छाक टार्नलाई अन्न नभएको अवस्था छ,” वडाध्यक्ष डगौराले भन्नुभयो, “गाउँले जीवन रक्षाका लागि हात अघि बढाएका छन् । सबैको सहयोग भयो भने नेपालमा उपचार गराउने योजना छ । तर पैसा जुटिसकेको छैन ।”रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>