Breaking News
कृष्णभिरमा अहिलेसम्म ९० प्रतिशत काम सकियोः सडक डिभिजन भरतपुर

चितवन,भदौं ३१-
सडक डिभिजन कार्यालय भरतपुर, चितवनले पृथ्वी राजमार्गमा पर्ने कृष्णभिरमा जारी ट्र्याक निर्माण कार्य आज (बुधबार) साँझसम्म पूरा हुने जनाएको छ। दुई सातादेखि अवरुद्ध पृथ्वी राजमार्गमा भोलि (असोज १ गते) देखि सवारी साधन पूर्णरूपमा सञ्चालन गर्ने उद्देश्यसहित अहिले निरन्तर काम भइरहेको जानकारी कार्यालयले दिएको हो।
‘कृष्णभिर सडकखण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ,’ कार्यालयले बुधबार बिहान जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरको २७० मिटर नव-निर्मित सडक खण्डमा कटिङ, ग्राभेलिङ तथा सब-सर्फेस ड्रेनेज निर्माण सम्पन्न भएको छ। बाँकी सब-बेसको काम आज बेलुकासम्म पूरा गर्ने गरी कार्य अघि बढाइएको छ।’ फ्लड लाइटको व्यवस्था मिलाएर रातको समयमा पनि निरन्तर काम भइरहेको कार्यालयले जनाएको छ।
‘असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा सञ्चालन गरिने जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पृथ्वी राजमार्गको कृष्णभिरमा ट्र्याक खोल्ने काम सकिएको जानकारी दिएको थियो। ‘बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभीरमा ट्रयाक खोल्ने काम सरकारबाट सम्पन्न भएको छ,’ प्रधानमन्त्रीको सचिवालयले बुधबार बिहाहन भनेको छ, ‘यो सडक खण्डमा भोलिबाट पूर्णरूपमा सवारी साधन आउजाउ गर्नेछन्।’























