तनहुँ

पूर्वाधार मर्मत तथा विस्तारमा प्रभावकारी बन्दै दमौली सडक डिभिजन

Banner

दमौली (तनहुँ), भदौ २३-

सडक डिभिजन कार्यालय दमौलीले आर्थिक वर्ष २०८२/८३ मा सडक पूर्वाधार निर्माण तथा मर्मतसम्भारका क्षेत्रमा विभिन्न काम सम्पन्न गरेको छ । कार्यालयले उक्त आर्थिक वर्षमा नयाँ सडकको ट्रयाक खोल्नेदेखि सडक ग्राभेल, कालोपत्र, ढलान तथा नियमित मर्मतसम्भारलगायत काम गरेको हो ।

कार्यालय प्रमुख राजिव श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कार्यालयअन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रममार्फत ३.२ किलोमिटर सडकको ट्रयाक खोल्नेकार्य सम्पन्न भएको छ । उक्त कार्यबाट तनहुँका बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न क्षेत्रमा आन्तरिक आवागमनमा सुधार आएको उहाँले बताउनुभयो ।

त्यस्तै, ७.३० किलोमिटर सडक ग्राभेल गरिएको छ । व्यास नगरपालिका र घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा ग्राभेल सडक निर्माण गरिएको हो । यसबाट स्थानीयस्तरमा सडकको पहुँच विस्तार हुनुका साथै वर्षायाममा आवागमन सहज बनाउन सहयोग पुगेको श्रेष्ठको भनाइ छ ।

सो अवधिमा २.६० किलोमिटर सडक कालोपत्र र ३.१६ किलोमिटर सडक ढलान गर्ने कार्यसमेत सम्पन्न भएको छ । व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाअन्तर्गतका सडकमा कालोपत्र तथा ढलानको काम गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्र्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका राष्ट्रिय तथा सहायक राजमार्गलाई नियमित सञ्चालनमा राख्न नियमित तथा पटके मर्मतलाई पनि प्राथमिकता दिएको छ । श्रेष्ठका अनुसार ११६.५० किलोमिटर सडकमध्ये ८०.५० किलोमिटर राष्ट्रिय राजमार्ग र ३६ किलोमिटर सहायक राजमार्गको नियमित तथा पटके मर्मत गरेको छ । सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने, बिग्रिएका संरचना मर्मत गर्ने तथा सडकलाई सञ्चालनयोग्य अवस्थामा राख्ने काम गरिएको श्रेष्ठले बताउनुभयो ।

सडक मर्मतका कारण राजमार्ग तथा सहायक राजमार्गमा यातायात सञ्चालनलाई निरन्तरता दिन सहयोग पुगेको उहाँको भनाइ छ । विशेषगरी वर्षायाममा सडकमा आउने समस्या तत्काल सम्बोधन गरी यातायात सञ्चालनमा सहजीकरण गरिएको उहाँले बताउनुभयो ।

कार्यालयले लामो समयदेखि कार्यान्वयनमा समस्या देखिएका रुग्ण ठेक्का व्यवस्थापनमा प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०८२/८३ सम्म आइपुग्दा पाँच वटा रुग्ण ठेक्का तोडिएको उहाँले उल्लेख गर्नुभयो ।

निर्धारित समयमा काम अघि बढाउन नसकेका तथा विभिन्न कारणले रुग्ण बनेका ठेक्काको व्यवस्थापनलाई प्राथमिकतामा राखेर ठेक्का तोड्ने प्रक्रिया अघि बढाइएको हो । रुग्ण ठेक्का व्यवस्थापनले लामो समयदेखि अलपत्र रहेका सडक आयोजनालाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सडक निर्माण तथा मर्मतका विभिन्न कार्यक्रममार्फत कार्यालयले २७७ जना निर्माणकर्मीलाई आंशिक रोजगारी प्रदान गरेको छ । उहाँका अनुसार निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमअन्तर्गत ८० जना, वैकल्पिक सहायक राजमार्ग कार्यक्रमअन्तर्गत ७५ जना, राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत ६५ जना, सडक बोर्ड मर्मतअन्तर्गत ३२ जना र सडक बोर्ड मर्मत तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत ३५ जना निर्माणकर्मीले रोजगारी पाएका छन् ।

कार्यालयले सडक पूर्वाधारको विस्तारसँगै विद्यमान सडकलाई सुरक्षित र सञ्चालनयोग्य राख्न मर्मतसम्भारलाई पनि प्राथमिकता दिएको जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>