देश/प्रदेश

धनुषामा २२५ पोका रगत सङ्कलन

Banner

जनकपुरधाम, भदौ २२-

बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको ढल्केबरमा २२५ पोका रगत सङ्कलन गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा रगतको आवश्यकता बढिरहेको र अस्पतालमा रगत अभाव देखिन थालेपछि मानवीय सेवाको भावनासहित ढल्केवरमा आयोजित बृहत् रक्तदान कार्यक्रममा २२५ पोका रगत सङ्कलन गरिएको हो ।

आइतबार २९ महिला र १९६ पुरुषले रक्तदान गरेका मिथिला नगर पत्रकार सञ्जालका अध्यक्ष बिजयकुमार साहले जानकारी दिनुभयो । आयोजकका अनुसार मधेश प्रदेशमा एउटै रक्तदान कार्यक्रममा यति ठूलो परिमाणमा रगत सङ्कलन भएको यो अहिलेसम्मकै उच्च परिमाण हो ।

रक्तदान गर्न स्थानीयवासी मात्र होइन, व्यवसायी, युवा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्ति उत्साहका साथ सहभागी थिए ।

रक्तदाताले आफूले दिएको रगतको केही थोपा कसैको जीवनमा अमूल्य बन्न सक्ने भन्दै नियमित रक्तदानका लागि सबैलाई प्रेरित गरेका थिए । रसुवा बाढीपहिरोमा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो । ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मिथिला लायन्स क्लब, ढल्केवर खानेपानी उपभोक्ता समिति, मिथिला उद्योग वाणिज्य सङ्घ, मिथिला ब्याडमिन्टन क्लब, मिथिला नगर पत्रकार सञ्जाल, मधेस प्रदेश उद्योग परिसङ्घ, मिथिला युवा सञ्जाल, शुभकामना सहकारी संस्था बडहरी र नमूना सहकारी संस्था ढल्केवरलगायत सङ्घसंस्थाको सहकार्य थियो ।

नेपाल रेडक्रस सोसाइटी धनुषा र ब्लड फोर नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा सङ्कलन गरिएको रगतले उपचारका क्रममा रगत आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । ढल्केवरमा यसपटक केवल रगतको सङ्कलन भएन, मानवीय संवेदना, सामाजिक एकता र सहयोगको भावना ठूलो मात्रामा सङ्कलन भएको स्थानीयले बताएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>