Breaking News

चितवनमा ३६२ शव फेला, ३३३ को व्यवस्थापन, १४ जनाको सनाखत

Banner

चितवन, भदौ २०—

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका शवको संख्या ३६२ पुगेको छ। तीमध्ये हालसम्म ३३३ शवको डीएनए नमुना सुरक्षित राखेर देवघाटस्थित जंगलमा जमिनमुनि व्यवस्थापन गरिएको छ भने १४ जनाको मात्रै सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ७१ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक र १२९ अन्य (लिङ्ग पहिचान हुन नसकेका) रहेका छन्।

यसैगरी व्यवस्थापन गरिएका ३३३ शवमध्ये ७३ महिला, १०७ पुरुष, १५ बालिका, ११ बालक तथा १२७ अन्य श्रेणीका शव रहेका छन्। प्रहरीका अनुसार हालसम्म सनाखत भएर आफन्तले बुझेका शवमध्ये २ महिला, ११ पुरुष र १ बालिकासहित जम्मा १४ शव रहेका छन्।

प्रशासनले पहिचान हुन नसकेका शवको डीएनए नमुना संकलन गरी प्रत्येक शवलाई संकेत नम्बर सहित अभिलेख राखेर व्यवस्थापन गरिएको जनाएको छ। भविष्यमा आफन्तको डीएनएसँग मिलान भएपछि आवश्यक परे शव उत्खनन गरी जिम्मा दिन सकिने व्यवस्था मिलाइएको छ।

नदी किनारमा अझै शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खोजी तथा व्यवस्थापन कार्यमा निरन्तर परिचालित रहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>