स्वास्थ्य

स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

Banner

भद्रपुर (झापा), भदौ १९ –

उमेर ढल्किँदै गएपछि स्वास्थ्य समस्या थपिँदै जान्छ । उपचारका लागि स्वास्थ्य संस्था पुग्न सक्ने अवस्था नहुँदा धेरै ज्येष्ठ नागरिक सामान्य समस्या लिएर घरमै बस्न बाध्य हुन्छन् । यहाँको अर्जुनधारा नगरपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै स्वास्थ्यकर्मीलाई टोलटोलमा पठाउन थालेको छ ।

अर्जुनधारा–८ को शनिश्चरे चोकस्थित ज्येष्ठ नागरिक चौतारी यसको उदाहरण बनेको छ । दिनहुँ ज्येष्ठ नागरिक भेला हुने चौतारीमा अहिले सुखदुःखका कुरा र राजनीतिक गफसँगै स्वास्थ्य परीक्षण हुन थालेको छ ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रले हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । वडाध्यक्ष कुमार उप्रेतीका अनुसार ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले २०८१ मङ्सिरदेखि टोलटोल तथा ज्येष्ठ नागरिक चौतारीमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको हो ।

“ज्येष्ठ नागरिकलाई स्वास्थ्य संस्थासम्म आउन कठिन हुने भएकाले उहाँहरू भेला हुने स्थानमा पुगेर स्वास्थ्य परीक्षण र परामर्श दिने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, ‘हरेक महिनाको १६ गते ज्येष्ठ नागरिक चौतारीमा नियमित स्वास्थ्य सेवा दिँदै आएका छौँ ।”

बिहीबार उक्त ज्येष्ठ नागरिक चौतारीमा ४० जनाभन्दा बढीले स्वास्थ्य सेवा लिएका थिए । स्वास्थ्य केन्द्रकी नर्सिङ निरीक्षक मञ्जु बास्तोलाका अनुसार स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकलाई मानसिक स्वास्थ्यसम्बन्धी परामर्श दिइने गरिएको छ । गर्भवती महिलालाई भने स्वास्थ्य केन्द्रमा बोलाएर परामर्श दिने गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र कुइँकेलका अनुसार कार्यक्रमको उद्देश्य स्वास्थ्य परीक्षणमा मात्र सीमित छैन । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्नुका साथै उनीहरूको एक्लोपन कम गर्नु पनि कार्यक्रमको महत्त्वपूर्ण पक्ष हो ।

“ज्येष्ठ नागरिकलाई गाह्रो–अप्ठ्यारो सोधिदिने कमै हुनुहुन्छ”, कुइँकेलले भन्नुभयो, “छोराछोरी स्वदेशमा व्यस्त हुनुहुन्छ कि विदेशमा हुनुहुन्छ । बिरामी हुँदा स्वास्थ्य संस्थामा पुर्याउने मान्छेको अभाव छ । नातिनातिनी पुस्ता र ज्येष्ठ नागरिकबीच संवादहीनताको अवस्था छ ।”

स्वास्थ्यकर्मी टोलमै पुग्दा रोगको पहिचान र परामर्शसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष संवाद हुने भएकाले सामाजिक रूपमा पनि कार्यक्रम प्रभावकारी हुने स्वास्थ्य शाखाको बुझाइ छ । ज्येष्ठ नागरिक भेला हुने स्थानमै पुगेर स्वास्थ्य सेवा दिँदा स्थानीय सरकारको उपस्थिति घरदैलोसम्म पुगेको अनुभूति हुने शाखा प्रमुख कुइँकेललको भनाइ छ ।

अर्जुनधारा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा समेत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणलाई प्राथमिकतामा राखेको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनुभयो । “ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अवस्था हुनसक्छ । त्यसैले उहाँहरू जहाँ भेला हुनुहुन्छ, त्यहीँ पुगेर स्वास्थ्य सेवा दिने हाम्रो उद्देश्य हो”, नगरप्रमुख तामाङले भन्नुभयो, “स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद हुने भएकाले यसले उहाँहरूको सामाजिक एक्लोपन कम गर्न सहयोग पुग्छ ।”

नगरप्रमुख तामाङका अनुसार सबै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै टोलटोलमा स्वास्थ्य सेवा विस्तार गर्ने लक्ष्य राखिएको छ । यही चौतारीबाट स्वास्थ्य सेवा लिनुभएका ७० वर्षीय ज्येष्ठ नागरिक उपेन्द्रप्रसाद दाहालले चौतारीमाा स्वास्थ्य जाँच गर्न पाउँदा सहज भएको बताउनुभयो । स्वास्थ्य संस्थासम्म पुग्नुपर्ने झन्झट नहुने र आफ्नै ठाउँमा स्वास्थ्यकर्मी आएर जाँच गरिदिँदा कार्यक्रम ज्येष्ठ नागरिकका लागि निकै उपयोगी भएको उहाँको भनाइ छ ।

“हामी भेला हुने चौतारीमा स्वास्थ्यकर्मी आएर स्वास्थ्य परीक्षण गरिदिँदा निकै सहज भएको छ । स्वास्थ्य जाँचसँगै स्वास्थ्यकर्मीले हाम्रो कुरा सुनिदिँदा र भेटघाट हुँदा एक्लोपन पनि कम भएको महसुस हुन्छ”, उहाँले भन्नुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>