Breaking News
कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना परिचालन

धादिङ, भदौ १८-
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरो पन्छाउने काम अघि बढाइएको छ ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणसमेत दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ ।
रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरिने मन्त्रालयले जनाएको छ । सडक सञ्चालनलाई प्राथमिकतामा राखेर काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयको भनाइ छ ।
त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा पृथ्वी राजमार्गको ठूलो हिस्सा क्षतिग्रस्त भएपछि सडक अवरुद्ध भएको हो । सडक विभागले तत्काल यातायात सञ्चालनका लागि वैकल्पिक उपायको अध्ययन गरिरहेको छ ।
दीर्घकालीन समाधानका लागि भने टनेल, बाइपास, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पबारे अध्ययन गर्ने निर्णयसमेत भएको छ ।

























