देश/प्रदेश
नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर (नवलपरासी), भदौ १३-
रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि नवलपरासी (बर्दघाट सुस्तापूर्व)का दुई पालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २३ लाख सहयोग प्रदान गर्ने भएका छन् ।
भोटेकोशी बाढीका कारण भएको मानवीय क्षति, निजी तथा सार्वजनिक भौतिक संरचनामा पुगेको क्षति र जनजीवनमा परेको गम्भीर असरप्रति दुःख व्यक्त गर्दै जिल्लाका मध्यविन्दु नगरपालिका र देवचुली नगरपालिकाले आर्थिक सहयोग गर्ने निर्णय गरेका हुन् ।
मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले पालिका र जनप्रतिनिधिको तर्फबाट रु १५ लाख सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
नेपाल सरकारद्वारा सञ्चालित उद्धार, राहत तथा पुनःस्थापना अभियानप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको पीडामा साथ दिन मध्यविन्दु नगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगर कार्यपालिकाको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाको तर्फबाट रु पाँच लाख, जनप्रतिनिधिको तर्फबाट रु चार लाख तथा कर्मचारीको तर्फबाट रु छ लाख गरी जम्मा रु १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरिएको अधिकारीले बताउनुभयो ।
उहाँले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग, सहकार्य र सद्भाव प्रदर्शन गर्नसमेत सम्पूर्ण मध्यविन्दु नगरवासीमा अपिल पनि गर्नुभयो ।
त्यसैगरी, देवचुली नगरपालिकाले रु आठ लाख सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हरिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिकाको तर्फबाट रु चार लाख तथा जनप्रतिनिधि र कर्मचारीको तर्फबाट रु चार लाख गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु आठ लाख सहयोग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
यस दुःखद् क्षणमा प्रभावित परिवारलाई आवश्यक सहयोग र विपद् व्यवस्थापनका कार्यमा सहयोग, समन्वय र सहकार्य गरिदिनुहुन सम्पूर्ण देवचुली नगरवासीमा हार्दिक अपील गरिएको न्यौपानेको भनाइ छ । रासस

























