देश/प्रदेश

भीडभाडबाट सुनसान बनेको हिमाली बजारको कथा

Banner

सोलुखुम्बु , भदौ ९ –

सल्लेरी बजार–कुनै समय यस्तो थियो, जहाँ ग्राहकको भीडले व्यापारीलाई हैरान बनाउँथ्यो । आज त्यही सल्लेरीमा पसलहरू खुला छन् । तर ग्राहकको प्रतीक्षामा व्यापारीका आँखा थाक्न थालेका छन् ।

हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरी कुनै समय निकै व्यस्त बजारका रूपमा चिनिन्थ्यो । कुनै समय यही बजारमा ग्राहकको भीडले व्यापारीलाई सास फेर्नसमेत फुर्सद हुँदैनथ्यो । होटलमा कोठा पाउन गाह्रो हुन्थ्यो । सरकारी कार्यालयहरू सेवाग्राहीले भरिभराउ हुन्थे । सडकमा मानिसको ओहोरदोहोरले बजार जीवन्त देखिन्थ्यो ।

आज त्यही सल्लेरी धेरैका लागि अपरिचितजस्तै बनेको छ । विशेषगरी शनिबार र आइतबारको दुईदिने बिदामा बजार अझ सुनसान हुन्छ । पसल खुला हुन्छन, सामान सजिएका हुन्छन, तर ग्राहकको संख्या औँलामा गन्न सकिने खालको हुन्छ ।

पहिले ग्राहकलाई पालो मिलाउन गाह्रो पर्ने व्यापारीहरू अहिले घण्टौँसम्म कुर्सीमा बसेर ग्राहकको बाटो हेर्छन् । ग्राहक नआएपछि कोही मोबाइल चलाएर समय बिताउँछन, कोही घरायसी काममा व्यस्त हुन्छन् । कतिपय व्यापारीका लागि अहिले व्यापारभन्दा प्रतीक्षा नै दैनिकी बनेको छ ।

यो दृश्य केवल सल्लेरीको मात्र होइन । पछिल्लो समय हिमाली तथा पहाडी क्षेत्रका धेरै बजारमा यस्तै अवस्था देखिन थालेको छ । शहरीकरण र बजारीकरणसँगै गाउँमा बसोबास गर्ने जनसंख्या घट्दै गएको छ । रोजगारी, शिक्षा, स्वास्थ्य सेवा र अन्य अवसरको खोजीमा मानिसहरू जिल्ला बाहिर वा काठमाडौं तथा विदेशतर्फ गएका छन् । गाउँ खाली हुँदा गाउँसँग जोडिएका स्थानीय बजारको ग्राहक आधार पनि सँगै खुम्चिएको छ । व्यापारको आधार नै जनसंख्या हो । जब उपभोक्ता बाहिरिन्छन बजारको चहलपहल पनि उनीहरूसँगै बाहिरिन्छ ।

स्थानीय व्यापारीहरूका अनुसार बजारमा आएको परिवर्तनको अर्को कारण अनलाइन किनमेल पनि हो । पहिले दैनिक उपभोगदेखि लत्ताकपडासम्मका सामान स्थानीय पसलबाट किनिन्थ्यो । अहिले मोबाइलमै केही क्लिक गरेर घरसम्म सामान पुग्ने सुविधा बढेपछि स्थानीय पसलमा आउने ग्राहकको संख्या घटेको उनीहरूको अनुभव छ ।

अनलाइन प्लेटफर्मसँग मूल्य, विविधता र डेलिभरीको प्रतिस्पर्धा गर्न साना बजारका व्यापारीलाई झन् कठिन हुँदै गएको छ । सल्लेरी बजारको सुनसानपनलाई केवल व्यापार घटेको घटनाका रूपमा मात्रै हेर्न मिल्दैन । यसले हिमाली जिल्लाको स्थानीय अर्थतन्त्रमा भइरहेको गहिरो परिवर्तनलाई पनि संकेत गर्छ ।

जब बजारमा ग्राहक कम हुन्छन् । तब व्यापारीको आम्दानी घट्छ । आम्दानी घटेपछि नयाँ लगानी रोकिन्छ । रोजगारी सिर्जना हुने सम्भावना कमजोर हुन्छ । त्यसले थप मानिसलाई बाहिरिन प्रेरित गर्छ । यसरी स्थानीय अर्थतन्त्र एउटा चक्रमा फस्न थाल्छ ।

आज सल्लेरीका सडकमा पहिलेको जस्तो भीड छैन । होटलहरूमा पहिलेको जस्तो चाप छैन । पसलमा ग्राहकको लाइन छैन । तर व्यापारीहरूले अझै सटर बन्द गरेका छैनन् । उनिहरुमा फेरी कुनैदिन बजारको रौनक फर्किने आशा जिवितै देखिन्छ । त्यसैले त उनीहरू प्रत्येक बिहान पसल खोल्छन् सामान मिलाउँछन् र ग्राहकको प्रतीक्षा गर्छन् । सल्लेरीको कथा एउटा बजारको कथा मात्र होइन । यो गाउँबाट सहरतर्फ बगिरहेको जनसंख्याको कथा हो । यो रोजगारीको खोजीमा बाहिरिएका युवाहरुको कथा हो र यो कुनै समय जीवन्त बजार आज आफ्नै पुरानो चहलपहल फर्किने आशामा बसेको हिमाली बजारको कथा हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>