राजनीति
संविधान दिवसमा कुलमान घिसिङको सन्देशः संविधानलाई समयानुकूल सुधार गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौं, असोज ३ –
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले संविधानको प्रभावकारी कार्यान्वयनसँगै समयानुकूल र आवश्यक संशोधन तथा प्रणालीगत सुधार गर्नुपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिदैँ घिसिङले संविधानले सुनिश्चित गरेका लोकतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक हक, सामाजिक न्याय, समावेशिता र विधिको शासनका मूल्यलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताएका हुन्।
उनले संविधान निर्माणका लागि भएका लोकतान्त्रिक आन्दोलन, संघर्ष र बलिदानको सम्मान गर्दै ज्ञात–अज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
संविधान कार्यान्वयनका क्रममा देखिएका कमी–कमजोरी सुधार गर्दै आवश्यकताअनुसार संविधान संशोधन र प्रणालीगत सुधारमार्फत संविधानलाई अझ प्रभावकारी र जनमुखी बनाउनुपर्ने उनको भनाइ छ।
घिसिङले उज्यालो नेपाल पार्टी सुशासन, पारदर्शिता, जवाफदेहिता, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राखेर नागरिक सर्वोच्चता तथा संविधानका लोकतान्त्रिक उपलब्धिको संरक्षण र सुदृढीकरणका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
भ्रष्टाचारमुक्त, न्यायपूर्ण, समावेशी र परिणाममुखी शासन प्रणालीमार्फत आशा, अवसर र समृद्धिसहितको ‘उज्यालो नेपाल’ निर्माण गर्ने पार्टीको संकल्प रहेको उनले बताएका छन्।
संविधान दिवसका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै उनले संविधानको प्रभावकारी कार्यान्वयन, नागरिक सर्वोच्चता र जनउत्तरदायी शासनका लागि पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
























