Breaking News
प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकी प्रदेशमा,आज पोखरामै बास बसे

गण्डकी, भदौ ७-
प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि गण्डकी प्रदेशमा रहनुभएको छ । शुक्रबार पोखरा आउनुभएका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुग्नुभएको थियो ।
आज मुस्ताङबाट फर्कनुभएका उहाँ पोखरामै बास बस्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । “प्रधानमन्त्रीको नितान्त पारिवारिक भ्रमण भएकाले हामीलाई पनि धेरै जानकारी छैन”, उहाँले भन्नुभयो, “आज उहाँ पोखरामै रहनुभएको छ, भोलि (सोमबार) काठमाडौँ फर्कनुहुन्छ ।”
प्रधानमन्त्री शाह काठमाडौँदेखि सडकमार्ग हुँदै मुस्ताङ पुगेर फर्कनुभएको हो । उहाँले शनिबार मुक्तिनाथ मन्दिर दर्शनसमेत गर्नुभएको थियो । निजी भ्रमण भएकाले प्रधानमन्त्री सरिक हुने कुनै औपचारिक कार्यक्रम नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
शुक्रबार कास्कीको माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नुभएका प्रधानमन्त्री शाह आज पनि पोखराकै एक रिसोर्टमा बस्नुभएको जनाइएको छ । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शुक्रबार निजी भ्रमणमा निस्कनुभएको थियो । रासस

























