देश/प्रदेश

चन्द्रपुरको विवादमा ‘ब्रेक’, खाता सञ्चालनको बाटो खुल्यो

Banner

रौतहट, भदौ ५–

लामो समयदेखि आर्थिक तथा प्रशासनिक गतिरोधमा फसेको चन्द्रपुर नगरपालिकामा अब कामकाजले गति लिने संकेत देखिएको छ। नगर प्रमुख सञ्जयकुमार काफ्ले र प्रमुख प्रशासकीय अधिकृत भद्रिराज ढकालबीचको असमझदारीका कारण रोकिएको नगरपालिकाको बैंक खाता सञ्चालनका लागि सहमतिको वातावरण बनेको हो।

नगरपालिकाको आर्थिक कारोबार रोकिँदा कर्मचारीको तलबभत्ता, विकास निर्माणका योजना, उपभोक्ता समिति तथा निर्माण व्यवसायीको भुक्तानीलगायत नियमित काम प्रभावित हुँदै आएका थिए। योजना सम्पन्न भएर पनि भुक्तानी रोकिएपछि नगरपालिकामाथि आर्थिक दायित्व थपिँदै गएको थियो।

गतिरोध अन्त्यका लागि कार्यपालिका सदस्य तथा भौतिक पूर्वाधार समिति संयोजक कल्याण कुश्वारले सक्रिय भूमिका निर्वाह गरेका थिए। उनले नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच संवाद बढाउँदै नगरपालिकाको खाता सञ्चालनलाई प्राथमिकतामा राखेर पहल गरेका थिए।

वडा नम्बर १ का अध्यक्ष बलराम राउतसहित अन्य कार्यपालिका सदस्यहरूले समेत आर्थिक कारोबार तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए। जनप्रतिनिधिहरूबीचको छलफलपछि खाता खोल्ने वातावरण बनेको बताइएको छ।

चन्द्रपुरमा लम्पी स्किन रोगका कारण गाईवस्तु प्रभावित भइरहेका बेला औषधि, उपचार तथा रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न समेत नगरपालिकाको आर्थिक कारोबार आवश्यक बनेको थियो। आर्थिक स्रोत परिचालन गर्न नसक्दा यस्ता अत्यावश्यक काममा समेत असर पर्ने अवस्था थियो।

आर्थिक विकास संयोजक नेत्रबहादुर कुश्वारका अनुसार सोमबारदेखि मंगलबारसम्ममा नगरपालिकाको बैंक खाता सञ्चालनमा आउने तयारी छ। खाता खुलेपछि रोकिएका भुक्तानी, विकास निर्माणका काम तथा अन्य प्रशासनिक गतिविधि क्रमशः अघि बढ्ने अपेक्षा गरिएको छ।

कुश्वारले खाता सञ्चालनलाई कुनै व्यक्तिको जित वा हारका रूपमा लिन नहुने बताएका छन्। उनका अनुसार नगरपालिकाभित्रको असमझदारी समाधान गरेर जनताको सेवा नियमित बनाउनु नै अहिलेको मुख्य आवश्यकता हो।

लामो समयदेखि रोकिएको आर्थिक कारोबार खुल्ने भएपछि चन्द्रपुरका सेवाग्राही, कर्मचारी, उपभोक्ता समिति र निर्माण व्यवसायीले राहत पाउने अपेक्षा गरिएको छ। अबको चुनौती भनेको खाता खोलिसकेपछि फेरि विवाद नदोहो¥याई नगरपालिका सञ्चालनमा स्थायी सहकार्य कायम गर्नु रहेको जनप्रतिनिधिहरूको भनाइ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>