स्वास्थ्य
गौमुलमा दश शय्याको अस्पतालः भवन सहित उपकरण छ, सेवा गर्ने चिकित्सक भेटिएन
०

बाजुरा, भदौ ४ –
यहाँको गौमुल गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ । गौमुल –२ मालिवनमा निर्माण गरिएको नवनिर्मित अस्पताल भवनको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले शुभारम्भ गर्नुभयो ।
२०७७ चैतमा रु १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।
अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा आउन सकेको थिएन ।
“मेडिकल अधिकृतका लागि धेरै खोज्यौँ, तर तत्काल पाउन सकिएन । केही सम्पर्कमा आएका चिकित्सकले पनि आउन मानेनन्”, गाउँपालिका अध्यक्ष रोकायाले भन्नुभयो, “आवश्यक अन्य जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरिएको छ । अब तत्कालै चिकित्सकको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।”
अस्पतालमा दुई जना एमबिबीएस चिकित्सकसहित २२ जना कर्मचारी रहने व्यवस्था छ ।
गाउँपालिकामै अस्पताल सञ्चालनमा आएपछि नागरिकले स्थानीय तहमै स्वास्थ्य सेवा पाउने वातावरण बनेको गाउँपालिका उपाध्यक्ष सीता थापाले बताउनुभयो । “यसअघि सामान्य उपचारका लागि बाहिर जानुपर्ने अवस्था थियो । भौगोलिक रूपमा विकट गाउँका नागरिकले उपचारका लागि ठूलो रकम खर्च गर्नुपथ्र्यो”, उपाध्यक्ष थापाले भन्नुभयो, “विशेषज्ञ चिकित्सकसहित आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गरेर पालिकामै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य छ ।”
यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर रहेका त्यहाँका स्थानीयले थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने आशा व्यक्त गरेका छन् ।
आधारभूत अस्पताल सञ्चालनमा आएसँगै गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी धाउनुपर्ने बाध्यता घट्दै जाने अपेक्षा गरिएको छ ।
स्थानीय तहमै चिकित्सकीय स्वास्थ्य सेवा विस्तार हुँदा समय, खर्च र दुःख कम हुने स्थानीय सुशील रोकायाले बताउनुभयो । पालिकामै आधारभूत अस्पताल सञ्चालनमा आएसँगै विशेषज्ञ चिकित्सक तथा स्वास्थ्य सेवा उपलब्ध भए राहत मिल्ने बताउनुभयो ।
नौ स्थानीय तहमध्ये १० शय्या अस्पताल निर्माण गर्नेमा गौमुल दोस्रो बनेको छ । यसअघि जगन्नाथ गाउँपालिकाले २०८० चैतमा १० शय्या अस्पताल सञ्चालनमा ल्याएको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


















