देश/प्रदेश

विद्युतीय चुलो प्रवर्द्धनमा जोड

Banner
काठमाडौँ,भदौ  २ –
आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गर्नुभएको  छ ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा  विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।  प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । “वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ”, उहाँले भन्नुभयो ।
बैठकमा उहाँले मनसुनजन्य विपद्का कारण सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताउनुभयो । उहाँले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो । सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भई स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रूलिङ गरेपछि आजदेखि विपक्षी सांसदहरूले बैठकको आरम्भमा स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे विरोध गर्ने क्रम अन्त्य गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>