देश/प्रदेश
श्रावण शुक्ल पञ्चमीः वासुकीनाथमा विशेष पूजा

काठमाडौँ, भदौ १ –
नागपञ्चमीका अवसरमा पशुपति क्षेत्रस्थित वासुकीनाथ मन्दिरमा भक्तजनले विशेष पूजा गरेका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिनमा यो पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसँगै रहेको वासुकीनाथ मन्दिर पूजाका लागि बिहानैदेखि भक्तजन लाम लागेर आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार ३०० भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् ।
चान्द्रमास अनुसार श्रावण महिनाको तेस्रो सोमबार भएकाले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना गर्ने भक्तजन पनि धेरै भएको उहाँले जानकारी दिनुभयो । बोल बम यात्री बिहान दुई बजेदेखि नै लाममा बसेका थिए । पशुपतिनाथका चार ढोका भने आज बिहान चार बजेदेखि मात्र खोलिएको थियो । आज पशुपतिनाथ मन्दिरमा पनि ३०० जना भक्तजनले नै रसिद काटेर विशेष पूजा गरेका छन् । वासुकीनाथ र पशुपतिनाथमा गरी आज एकै दिन ६०० जना भक्तजनले रसिद काटेर विशेष पूजा गरेका हुन् ।
सौरमास अनुसारका चार सोमबार बिहान तीन बजेदेखि नै पशुपतिनाथका चार ढोका खुला गरिएको थियो । चान्द्रमास अनुसारको सोमबार के गर्ने भन्ने निर्णय नभएकाले बिहान चार बजेमात्र ढोका खोलिएको कोष संस्कृति संरक्षण महाशाखाका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले बताउनुभयो ।
सौरमास अनुसार साउनका सोमबार जत्तिकै पशुपति क्षेत्रमा आज पनि भक्तजनको उपस्थिति रहेको छ । चाडपर्व चान्द्रमास अनुसार मनाइने भएकाले चान्द्रमास अनुसारको सोमबार पनि पशुपति क्षेत्रमा भक्तजनको उपस्थिति रहेको कोषले जनाएको छ । चान्द्रमास अनुसार भदौ ८ गते सोमबार श्रावण महिनाको अन्तिम सोमबार परेको छ । त्यस दिन पनि पशुपतिनाथमा यही मात्रामा भक्तजनको लाम लाग्ने अनुमान गरिएकाले त्यसका लागि तयारी गरिने कोषले जनाएको छ । रासस

























