प्रवास
अमेरिकी सैनिक मार्ने वा पक्राउ गर्नेलाई पुरस्कार दिने इरानको घोषणा, महिलाले दोब्बर पाउने

तेहरान, भदौ १ –
अमेरिकी सैनिकको हत्या गर्ने वा उनीहरूलाई पक्राउ गरी इरानी अधिकारीसमक्ष बुझाउने व्यक्तिलाई ५ अर्ब तोमान अर्थात् करिब ३० हजार अमेरिकी डलर नगद पुरस्कार दिने घोषणा इरानको सेनाले गरेको छ।
इरानको अर्धसरकारी मेहर समाचार एजेन्सीका अनुसार सेनाका कमान्डर-इन-चिफ मेजर जनरल अमिर हातामीलाई उद्धृत गर्दै उक्त पुरस्कार योजना घोषणा गरिएको हो।
‘यो उपलब्धि हासिल गर्ने साहसी इरानी महिलाहरूले दोब्बर पुरस्कार पाउनेछन्,’ कमान्डर-इन-चिफ मेजर जनरल अमिर हातामीलाई उद्धृत गर्दै मेहर एजेन्सीले समाचार लेखेको छ। साथै उक्त कार्यमा प्रयोग भएको सम्भावित हतियारलाई सेनाले बजार मूल्यको दोब्बर रकम तिरेर खरिद गरी सङ्ग्रहालयमा राख्ने समेत समाचारमा उल्लेख गरिएको छ।
यस पहललाई जनस्तरबाट हुने क्राउडफन्डिङ अभियानले समेत सहयोग गरिरहेको बताइएको छ। इरानी नागरिकहरूले सशस्त्र बलको रक्षा गतिविधिलाई सहयोग गर्न रकम सङ्कलन गरिरहेका छन्। यसअघि अप्रिलमा पनि इरानले आफ्नो भूमिमा दुर्घटनाग्रस्त भएको अमेरिकी लडाकु विमानसँग सम्बन्धित अमेरिकी सैनिक फेला पार्न वा समात्न १० अर्ब तोमान पुरस्कार घोषणा गरेको थियो। एजेन्सी

























