देश/प्रदेश
खपटे किरो र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै

राँझा (बाँके), भदौ १-
मह उत्पादनका लागि पालिएका मौरी खपटे किरोेको सङ्क्रमणले मर्न थालेपछि यहाँका मौरीपालक किसान चिन्तित भएका छन् । खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ ।
कोहलपुरस्थित मौरीपालक किसान पुरमल बस्नेतले भन्नुभयो, “अहिले मौरीका लागि सङ्कटकालजस्तै भएको छ, खपटे किरोले मौरीको खाने कुरा, फूल र लार्भा खाइदिएका कारण मौरी जोगाउनै कठिन भएको छ । बाहिर आउँदा चराको आक्रमण छ भने घारभित्र खपटे कीराको सङ्क्रमण बढ्दो छ ।”
मौरीलाई खानपानको व्यवस्था गर्न सकिएन भने मौरीको घारमा किसानले ठूलो नोक्सानी बेहोर्नुपर्ने उल्लेख गर्दै बस्नेतले यसतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
एक सय घार मौरीपालन गर्दै आउनुभएका बढैयाताल गाउँपालिका मैनापोखर बर्दिया निवासी मौरीपालक किसान घनश्याम खत्रीले वर्षायाम मौरीको खाना अभाव हुने समयमा खपटे कीरा र सिलसाको सङ्क्रमणले मौरी जोगाउनै कठिन भएको बताउनुभयो । उहाँका अनसार विगत दुई महिनादेखि मौरीको घारमा यो समस्या देखिएको छ । उपचारका लागि घरेलु विधि अपनाए पनि प्रभावकारी हुन सकेको छैन ।
“एउटा घारमा १० वटा ‘फ्रेम’ हुन्छ त्यसमध्ये दुईदेखि तीन फ्रेम खाली भएको छ,” खत्रीले भन्नुभयो, “यसको प्रत्यक्ष असर मौरीपालक किसानलाई परेको छ ।”
यस्तै बर्दिया बढैयातालका किसान सिंहबहादुर शाहीले पहिला यस्तो सङ्क्रमण कहिल्यै नदेखिएको बताउनुभयो । एक सय ५० घार मौरीपालन गरिरहनुभएका उहाँले खपटे र सिलसा किरोको सङ्क्रमण नरोकिए एक सय घार मौरी जोगाउन पनि कठिन हुने उल्लेख गर्नुभयो ।
बाँके र बर्दिया जिल्लामा किसानले व्यावसायिक मौरीपालन गर्दै आउनुभएको छ । यहाँका किसान मौरी चराउन दाङ लैजाने गरेका छन् । तोरी फुल्ने ‘सिजन’मा बाँके बर्दियाका विभिन्न क्षेत्रमा मौरीका घार राखेर चराउने गरिए पनि अधिकांश समय दाङ जिल्लामै मौरी चराउने गरिएको मौरीपालक किसान बताउँछन् । अहिले यहाँका अधिकांश किसानले मौरी चराउन दाङमा घार राखेका छन् । दाङमा चराउन लगिएको मौरीको घारमा खपटे किरो र सिलसाको सङ्क्रमण देखिएपछि मौरी जोगाउन कठिन भइरहेको छ । रासस

























