विचार/ब्लग

नेपाली कांग्रेसः अन्तरसंघर्ष र पुनर्जागरण

Banner

-ध्रुवराज पोख्रेल

नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेस एउटा राजनीतिक दल मात्र होइन, लामो लोकतान्त्रिक आन्दोलनको संस्थागत अभिव्यक्ति पनि हो । २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट बनेको नेपाली कांग्रेसले राणा शासनविरुद्धको संघर्षदेखि २०४६ सालको जनआन्दोलन,२०६२/६३ को लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा सविधान सभाबाट नेपालको संविधान-२०७२निर्माणसम्म नेपालको राजनीतिक परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ । आज पनि कांग्रेसको आधिकारिक राजनीतिक परिचय राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आधारित छ । तर इतिहासको गौरवले मात्र वर्तमानका चुनौती समाधान गर्न सक्दैन । नेपाली कांग्रेस अहिले बाह्य राजनीतिक चुनौती, नवयुवा पुस्ताको बदलिँदो अपेक्षा र पार्टीभित्र तीव्र बन्दै गएको नेतृत्व तथा संगठनात्मक अन्तरसंघर्षका कारण एउटा महत्वपूर्ण राजनीतिक मोडमा उभिएको छ । त्यसैले आज कांग्रेसको प्रश्न केवल सत्ता, शक्ति र संघर्षको विषयमा सीमित छैन। यो विचार, विमर्श, संगठनात्मक पुनर्संरचना र २१औंशताब्दीको समाज रूपान्तरणका लागि स्पष्ट कार्यदिशासँग पनि जोडिएको छ । कांग्रेसको रूपान्तरण अब सामाजिक उत्तरदायित्व बहन गर्ने र जनताको जीवनसँग प्रत्यक्ष जोडिने दिशामा उन्मुख हुन आवश्यक छ ।

गत भाद्र २३ र २४ गते जेनजी पुस्ताका युवाहरूले गरेको विद्रोह नेपालको राजनीतिमा एउटा महत्वपूर्ण पुस्तान्तरणको संकेतका रूपमा देखापर्‍यो । बढ्दोभ्रष्टाचार, राजनीतिक संरक्षणवाद, अवसरको असमान वितरण, बेरोजगारी, कमजोर सार्वजनिक सेवा तथा पुरानो राजनीतिक संस्कारप्रतिको असन्तुष्टि सडकमा अभिव्यक्त भयो । उक्त विद्रोहले परम्परागत राजनीतिक दलहरूलाई एउटा असहज तर गम्भीर प्रश्नसमेत गर्‍यो । लामो संघर्ष र बलिदानको इतिहास भएका राजनीतिक दल तथा तिनका नेताहरूले लोकतन्त्र स्थापना भएपछि त्यसको लाभ नागरिकको दैनिक जीवनमा अपेक्षित रूपमा पुर्‍याउन किन सकेनन्? जनसरोकारसँग जोडिएका यी प्रश्न नेपाली कांग्रेसका लागि अझ झन गम्भीर छन्, किनकि कांग्रेसले आफूलाई नेपालको लोकतान्त्रिक आन्दोलनको प्रमुख संवाहकका रूपमा प्रस्तुत गर्दै आएको छ । त्यसैले जेनजी विद्रोहलाई केवल कुनै सरकार वा कुनै राजनीतिक दलविरुद्धको क्षणिक असन्तुष्टिका रूपमा बुझ्नु ऐतिहासिक भूल हुनेछ । यो पुरानो राजनीतिक शैलीप्रतिको असन्तुष्टि र नयाँ राजनीतिक संस्कारको मागसमेत हो भन्ने यथार्थलाई स्वीकार गर्नुपर्छ । नेपाली कांग्रेसले यसलाई केवल चुनौतीका रूपमा होइन, आत्मसुधार, संगठनात्मक पुनर्निर्माण र राजनीतिक पुनर्जागरणको ऐतिहासिक अवसरका रूपमा लिन आवश्यक छ ।

जेनजी पुस्ताका युवाहरूको विद्रोहबाट असामान्य राजनीतिक परिस्थिति सिर्जना भएपछि उठेका सशक्त आवाजलाई सम्बोधन गर्दै युवाहरूलाई राजनीतिको मूलप्रवाहमा अर्थपूर्ण रूपमा सहभागी गराउनु आवश्यक भयो । यही सन्दर्भमा नेपाली कांग्रेसको नियमित १५ औंमहाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने परिस्थिति सिर्जना भयो । नेतृत्वले नियमित महाधिवेशनका लागि आवश्यक तयारी अघि बढाइरहेको दाबी गरिरहँदा पार्टीभित्रको एउटा ठूलो समूहले मुलुकमा देखिएको असामान्य परिस्थितिको सम्बोधन गर्न तत्काल विशेष महाधिवेशन आवश्यक रहेको तर्क अघि सार्‍यो । नेपाली कांग्रेस विधान- २०१७ को धारा १७ (२) मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष कारण खुलाएर विशेष महाधिवेशनको माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई आधार बनाउँदै विशेष महाधिवेशनको माग अघि बढाइयो । तर तत्कालीन नेतृत्वले त्यसको वैधानिकता र प्रक्रियामाथि प्रश्न उठाएपछि कांग्रेसभित्र दुई धारबीच गम्भीर राजनीतिक तथा कानुनी संघर्ष सुरु भयो । विशेष महाधिवेशनको मुख्य विवाद यसको वैधानिकतामाथि केन्द्रित थियो । तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशनलाई पार्टी विधानविपरीत भएको दाबी गर्दै त्यसमा सहभागी नहुन आग्रह गर्‍यो भने विशेष महाधिवेशनका समर्थकहरूले ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई विधानले सुनिश्चित गरेको अधिकारका रूपमा व्याख्या गर्दै महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम निर्धारित अवधिभित्र महाधिवेशन बोलाउन बाध्यकारी हुने तर्क गरे । अन्ततः विशेष महाधिवेशन सम्पन्न भयो र बिशेष महाधिवेशनबाट पार्टीको केन्द्रिय नेतृत्व परिवर्तन भयो र गगनकुमार थापा नेपाली कांग्रेसको सभापति बन्नुभयो र उहाँकै नेतृत्वमा फागुन २१ गते आमनिर्वाचन सम्पन्न भयो । विशेष महाधिवेशन सम्बन्धी विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्व सम्बन्धी विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि विवादले थप संस्थागत रूप लियो । त्यसपछि सर्वोच्च अदालतले पनि ४० प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिको माग आएपछि तोकिएको अवधिभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्थालाई बाध्यकारी प्रावधानका रूपमा व्याख्या गरेको छ । यससँगै विशेष महाधिवेशनको वैधानिकता सम्बन्धी विवाद केवल राजनीतिक दाबीको विषयमा सीमित रहेन, राज्यका सम्बन्धित संवैधानिक तथा न्यायिक निकायका निर्णयबाट समेत यसले संस्थागत निष्कर्ष प्राप्त गरेको अवस्था देखिन्छ । राजनीतिक रूपमा हेर्दा विशेष महाधिवेशनले कांग्रेसको आन्तरिक जीवनमा एउटा नयाँ अध्याय सुरु गरेको छ । एउटा पक्षले यसलाई बदलिँदो समयअनुकूल पार्टी रूपान्तरण गर्ने अवसरका रूपमा व्याख्या गरेको छ भने अर्को पक्षले यसलाई १४औंमहाधिवेशनबाट निर्वाचित नेतृत्वलाई विस्थापित गर्ने प्रक्रियाका रूपमा लिएको छ । यी दुई दृष्टिकोणबीचको अन्तरलाई अब निरन्तर द्वन्द्वको विषय बनाइ राख्नु भन्दा पार्टीको भविष्यका लागि रचनात्मक बहसमा रूपान्तरण गर्नु आवश्यक छ ।

नयाँ नेतृत्वको पहिलो उपलब्धि पुरानो नेतृत्वलाई विस्थापित गर्नु मात्र हुन सक्दैन । यसको वास्तविक सफलता पार्टीको संस्थागत पुनर्निर्माण, आन्तरिक लोकतन्त्रको सुदृढीकरण, संगठनको पुनर्जीवन र जनविश्वासको पुनर्स्थापनाबाट मापन हुनुपर्छ । विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा पार्टीभित्र नयाँ राजनीतिक ऊर्जा र परिवर्तनको आकांक्षा देखिएको छ ।“बदलियो कांग्रेस, बदल्छौँ देश” भन्ने नाराले पनि यही अपेक्षा र भरोसालाई प्रतिबिम्बित गरेको देखिन्छ । तर नयाँ नेतृत्वका अगाडि सबैभन्दा कठिन परीक्षा आफ्नो नेतृत्वप्रति असहमत पक्षलाई कसरी साथमा लिएर अघि बढ्ने र पार्टीलाई लोकतान्त्रिक संरचनाभित्र अझ सुदृढ कसरी बनाउने भन्ने हो । लोकतान्त्रिक पार्टीको नेतृत्वको वास्तविक शक्ति आफ्ना समर्थकको संख्याले मात्र होइन, आफूसँग असहमत विचार र व्यक्तिलाई समेत संस्थाभित्र सम्मानजनक स्थान दिन सक्ने क्षमताले मापन हुन्छ ।

यसैबीच नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहले देशका विभिन्न प्रदेशमा भेला, छलफल तथा संगठनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ । प्रदेशस्तरीय भेलामार्फत पार्टीको बृहत्तर एकता, भावी कार्यदिशा तथा १५औं महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र सबै पक्षको सम्मानजनक सहभागितामा सम्पन्न गर्न साझा संयन्त्र आवश्यक रहेको धारणा सार्वजनिक हुँदै आएको छ । लोकतान्त्रिक पार्टीभित्र नेतृत्वको आलोचना गर्ने, वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने र संगठनको भविष्यबारे बहस गर्ने अधिकारलाई अस्वाभाविक मान्न सकिँदैन । बरु यस्ता बहसले पार्टीलाई थप जीवन्त बनाउन सक्छन् । तर समस्या असहमतिको अस्तित्वमा होइन, असहमति संस्थागत बहसबाट बाहिर निस्केर समानान्तर संगठनात्मक संरचनातर्फ उन्मुख हुने अवस्थामा उत्पन्न हुन सक्छ ।चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय स्थापना गर्नु तथा विभिन्न तहमा छुट्टै संगठनात्मक गतिविधि सञ्चालन गर्नुले यस विषयलाई थप गम्भीर बनाएको छ । संस्थापन इतर समूहले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गरेको सन्दर्भमा पार्टी एकताका लागि गरिएका प्रयास सार्थक हुन नसकेपछि राष्ट्रिय बहस र नयाँ कार्यदिशाका लागि यस्तो भेला आवश्यक भएको इतर पक्षको तर्क छ । तर कांग्रेसको आधिकारिक संरचनाभन्दा बाहिरबाट राष्ट्रिय स्तरका राजनीतिक निर्णय र संगठनात्मक गतिविधि सञ्चालन गर्ने अभ्यासले पार्टीलाई बलियो बनाउँछ कि कमजोररु यो प्रश्नमा गम्भीर बहस आवश्यक छ । कुनै पनि लोकतान्त्रिक दलमा भेला, छलफल र विचार निर्माण निषेध हुनु हुँदैन तर राष्ट्रिय राजनीतिक निर्णय, संगठनात्मक संरचना तथा पार्टीको आधिकारिक कार्यदिशा निर्धारण गर्ने अधिकार पार्टीको विधानसम्मत निकायमा नै रहनुपर्छ । त्यसैले पार्टीको आधिकारिक संरचनाभन्दा बाहिरबाट हुने कुनै पनि गतिविधिले समानान्तर शक्ति केन्द्र निर्माण गर्ने अवस्था सिर्जना गर्नु हुँदैन । यदि राष्ट्रिय भेलाको उद्देश्य नेतृत्वलाई रचनात्मक दबाब दिनु, १५औं महाधिवेशनलाई निष्पक्ष र विश्वसनीय बनाउन बहस सिर्जना गर्नु तथा पार्टीभित्र सुधारको वातावरण निर्माण गर्नु हो भने संवादको ढोका खुला राखिनुपर्छ । तर त्यस्ता गतिविधि समानान्तर संगठन निर्माण गरी अन्ततः पार्टी विभाजनको आधार तयार गर्ने दिशामा अघि बढे भने त्यो नेपाली कांग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन र सहिदहरूको योगदानप्रति अन्याय हुनेछ ।

कांग्रेस विभाजित हुँदा तत्काल कुनै एउटा समूहले आफूलाई विजयी ठाने पनि दीर्घकालमा यसको क्षति मुलुक, लोकतन्त्र र स्वयं नेपाली कांग्रेसलाई हुनेछ । नेपाली कांग्रेसको शक्ति कुनै एक नेता, परिवार वा गुटमा सीमित छैन । यसको वास्तविक शक्ति देशभर फैलिएको संगठन, लोकतान्त्रिक आन्दोलनको इतिहास र लाखौँ पार्टी सदस्यहरूको भावनात्मक सम्बन्धमा आधारित छ । त्यसैले अहिलेको आवश्यकता गुटगत शक्ति परीक्षण होइन, संस्थागत एकता र जनविश्वासको पुनर्निर्माण हो ।समानान्तर संगठनको अभ्यासले केन्द्रबाट सुरु भएको विवाद वडा तहसम्म पुग्ने जोखिम हुन्छ । त्यसपछि पार्टी सदस्यले विचार र नीतिका आधारमा होइन, व्यक्तिका आधारमा समूह रोज्नुपर्ने अवस्था सिर्जना हुन सक्छ । अझ महत्वपूर्ण कुरा जेनजी पुस्ताले पुराना राजनीतिक दलहरूप्रति प्रश्न गरिरहेको समयमा नेपाली कांग्रेस स्वयं गुटगत संघर्षमा फस्यो भने नयाँ पुस्तामा राजनीतिक निराशा अझ बढ्न सक्छ । त्यसैले आज कांग्रेसलाई विजयभन्दा बढी विश्वासको राजनीति आवश्यक छ । नेतृत्वको सबैभन्दा ठूलो परीक्षा विपक्षी वा अन्य राजनीतिक दलसँग मात्र होइन, आफ्नै पार्टीभित्रको असन्तुष्ट पक्षसँगको सम्बन्ध व्यवस्थापनको कुशलतामा हुनेछ ।

नेतृत्वले असहमतीका विषयहरुलाई सहमतीका प्रक्रियामा लैजान निम्न कार्यहरु गर्न जरुरी छ ।

१, इतर समूहका प्रमुख नेताहरूसँग औपचारिक संवादको संयन्त्र बनाउनुपर्छ । असन्तुष्टिलाई सार्वजनिक आरोपप्रत्यारोपमा होइन, पार्टीको बैठक र संस्थागत प्रक्रियामा ल्याउनुपर्छ ।

२, पार्टी संगठनमा अवसर र जिम्मेवारी वितरण गर्दा गुटगत निष्ठाभन्दा क्षमता, योगदान, समावेशिता र जनाधारलाई आधार बनाउने प्रतिबद्धता सहित कार्यन्वयनको ग्यारेन्टी आवश्यक हुन्छ ।

३, गुटगत अबिश्वासलाई तोड्दै नेपाली कांग्रेसको १५औं महाधिवेशन तत्काल गर्नेगरी सबै पक्षले विश्वास गर्ने समय, प्रक्रिया, प्रतिनिधित्व र निर्वाचन संयन्त्र निर्माणका विषयमा स्पष्टता आवश्यक हुन्छ ।

४, नेपाली कांग्रेसको बहस गुट वा अरू कुनै व्यक्तिको वरिपरि केन्द्रित हुनु हुँदैन । हाम्रो बहस र पैरवी रोजगारीको सिर्जना गर्ने, युवा मैत्री अवसर, भ्रष्टाचारनियन्त्रण, सामाजिक उत्तरदायित्त्व र राज्यलाई जवाफदेही बनाउने, शिक्षा र स्वास्थ्यमा गुणस्तर ल्याउने, कृषि, पर्यटन र कृषिजन्य उत्पादनलाई अर्थतन्त्रको आधार बनाउने, प्रविधि र उद्यमशीलतालाई राष्ट्रिय विकासको मानक बनाउनेसम्बन्धि विषयहरूमा कांग्रेसको स्पष्ट दृष्टिकोणनिर्माण हुनुपर्दछ ।

५, दोष केवल नेतृत्वलाई दिने होइन । इतर समूहले पनि आफूलाई प्रश्न गर्नुपर्छ । कांग्रेसभित्र सुधार चाहिएको हो कि आफ्नो छुट्टै शक्ति केन्द्र रु यदि सुधार चाहिएको हो भने पार्टीभित्रै लोकतान्त्रिक संघर्ष गर्नुपर्छ। नेतृत्वको कार्यशैली सुधारका लागि वैधानिक विकल्प प्रस्तुत गर्नुपर्छ । तर समानान्तर संगठन निर्माण गरेर पार्टीलाई दुई ध्रुवमा विभाजित गर्ने बाटो अन्ततः कसैका लागि हितकर हुँदैन । प्रश्न गर्नु र असहमति राख्नु लोकतन्त्रको सुन्दर पक्ष हो तर संस्थालाई कमजोर पार्नु लोकतान्त्रिक चरित्र हुन सक्दैन । नेतृत्व बदल्नु लोकतान्त्रिक प्रक्रिया हो तर नेतृत्व बदल्ने नाममा संस्था नै कमजोर बनाउनु अराजनीतिक चरित्र हो ।

६, हाम्रा छलफल र बहसको केन्द्रविन्दु युवा पुस्ता हुनु जरुरी छ । युवाहरूको चाहना, सोच र अपेक्षा अनुसार पार्टीका गतिविधि अगाडि बढाउनु पर्दछ । विशेष गरी सुशासन र सेवा प्रवाहमा जोड दिदै दल, राज्य र समाज प्रति युवाहरूको विश्वास जगाउने सन्दर्भमा हामीले काम गर्नु पर्दछ ।

कांग्रेसलाई केवल गुट मिलाउने वा गुट भत्काउने सन्दर्भमा मात्र हेरेर समस्याको निकास खोज्न सकिँदैन । आज कांग्रेसलाई पार्टी नेतृत्व र इतर पक्षबीच मात्र होइन, कांग्रेस र नेपाली जनताबीच पनि एउटा नयाँ राजनीतिक विश्वास र सम्बन्धको निर्माण गर्न आवश्यक छ । जनतामा छाएको निराशा तोड्दै कांग्रेसले स्पष्ट रूपमा भन्न सक्नुपर्छ हामी विगतका गल्ती दोहोर्‍याउने छैनौँ, युवाको आवाज सुन्नेछौँ,भ्रष्टाचारविरुद्ध कुनै सम्झौता गर्ने छैनौं, पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनेछौं, व्यक्तिभन्दा संस्थालाई ठूलो बनाउनेछौं, र हामी केवल निर्वाचन जित्ने होइन, देश चलाउन सक्षम र उत्तरदायी पार्टी बन्नेछौं । यही विचार, प्रतिबद्धता र कार्यदिशाले नेपाली कांग्रेसको पुनर्जागरणको आधार तयार गर्न सक्छ ।

नेपाली कांग्रेस अहिले इतिहासको एउटा निर्णायक मोडमा छ । एकातर्फ नयाँ पुस्ताको असन्तुष्टि, पार्टीभित्रको अन्तरसंघर्ष र नयाँ नेतृत्वप्रति असिमीत अपेक्षा छ भने अर्कोतर्फ पुरानो नेतृत्व र संरचनासँग जोडिएको ठूलो राजनीतिक अनुभव र संगठनात्मक शक्ति पनि छ । यी दुई बस्तुगत अवस्थालाई टकरावमा होइन, रचनात्मक रूपान्तरणमा जोड्न सकियो भने वर्तमान संकट नै कांग्रेसको पुनर्जागरणको आधार बन्न सक्छ । कांग्रेसभित्र फरक मत रहोस्, बहस होस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस् तर लोकतान्त्रिक मूल्यमान्यता, संस्थागत प्रक्रिया र पार्टी एकतामा ह्रास आउने वातावरण निर्माण नहोस् ।किनकि लोकतान्त्रिक पार्टीभित्र नेतृत्व परिवर्तन सम्भव हुन्छ, तर इतिहासको उत्तराधिकार र जनताको विश्वास पुनःनिर्माण गर्न फेरि दशकौं लाग्न सक्छ । त्यसैले आज नेपाली कांग्रेसलाई फुटाउने राजनीति होइन, बदल्ने राजनीति आवश्यक छ । गुटगत स्वार्थभन्दा संस्थागत हित, व्यक्तिभन्दा विचार र सत्ता र शक्तिको राजनीति भन्दाजनविश्वासलाई प्राथमिकता दिन सकियो भने यही रूपान्तरणको यात्राले नेपाली कांग्रेसलाई पुनः जनताको कांग्रेसका रूपमा स्थापित गर्न सकिन्छ ।
(लेखक नेपाली कांग्रेस चितवनका सचिव हुनुहुन्छ)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>