देश/प्रदेश
राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप

दाङ, साउन ३०-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका सेवाग्राहीको सङ्ख्या बढ्दै गएपछि टिकट वितरणलाई व्यवस्थित बनाउने उद्देश्यले एउटा टिकट काउन्टर थप गरी सञ्चालनमा ल्याइएको हो ।
यसअघि प्रतिष्ठानमा स्वास्थ्य बिमा सेवाका लागि दुई वटा ओपिडी टिकट काउन्टर सञ्चालनमा थिए । सातामा दुई दिन बिदा हुँदा अरु दिन सेवाग्राहीको सङ्ख्या बढेसँगै अव्यवस्ति घुइँचो, लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यतालगायत अवस्थालाई मध्यनजर गर्दै काउन्टर थप गरिएको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताउनुभयो ।
सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न एउटा काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार प्रतिष्ठानमा पछिल्लो समययता उपचारका लागि आउने बिरामीको सङ्ख्या निरन्तर बढ्दै गएको छ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा सुरेश रसाइलीले स्वास्थ्य बिमामार्फत सेवा लिने सेवाग्राहीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले ओपिडी टिकट काउन्टर थप गरिएको जानकारी दिनुभयो । “बिमामार्फत उपचार गर्न आउने सेवाग्राहीलाई सहज र छिटो सेवा दिने उद्देश्यले काउन्टर थप गरेका हौँ”, उहाँले भन्नुभयो, “सेवाग्राहीको चाप र आवश्यकता अनुसार सेवा प्रवाहलाई थप व्यवस्थित बनाउँदै लैजाने प्रयास छ ।”
प्रतिष्ठानले स्वास्थ्य बिमा सेवामात्र नभई समग्र ओपिडी सेवामा आउने बिरामीको चापलाई व्यवस्थापन गर्न सेवा प्रवाहलाई क्रमशः सुधार गर्दै आएको जनाएको छ । टिकट वितरणदेखि चिकित्सकीय परामर्श तथा अन्य आवश्यक सेवासम्म सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण निर्माण तथा सुधार गर्न प्रतिष्ठानले व्यवस्थापकीय पहल थालेको सहप्राध्यापकसमेत रहनुभएका डा रसाइलीले बताउनुभयो ।
प्रतिष्ठानका अनुसार आगामी दिनमा बिरामीको चाप, सेवाग्राहीको आवश्यकता र सेवा प्रवाहको अवस्थालाई मूल्याङ्कन गर्दै आवश्यकताअनुसार सेवा थपिनुका साथै समयसापेक्ष व्यवस्थापन गर्दै जाने उहाँले प्रतिबद्धता जनाउनुभयो । रासस

























